सत्तालाई गलपासो बन्दै चिनियाँ ‘बीआरआई’-Sutra News

सत्तालाई गलपासो बन्दै चिनियाँ ‘बीआरआई’

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गतेदेखि चीनको राजकीय भ्रमणमा जाने तयारीमा छन् । उनी भ्रमणमा निस्कने तयारीमा जुट्दै गर्दा सत्ता गठबन्धनभित्रै भने विवाद बढ्दो छ । विशेषगरी भ्रमणका एजेन्डालाई लिएर दुई दलबिच मतभेद चुलिँदो छ ।



अहिले मुख्यगरी बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने वा नगर्ने, बीआरआईलाई अनुदानका रुपमा मात्रै लिने कि ऋणको रुपमा पनि स्वीकार गर्ने भन्ने विषयमा दुई दलबिच मतभेद छ । जसको कारण प्रधानमन्त्री ओलीको भ्रमणलाई नै सरकारले औपचारिकरुपमा घोषणा गर्न सकिरहेको छैन ।

मंगलबारको पूर्वनिर्धारित मन्त्रिपरिषद् बैठक आकस्मिकरुपमा स्थगित हुनु र बिहीबारको बैठकबाट पनि एजेन्डा पारित नहुनुले पनि अवस्थालाई छर्लङ्ग पार्छ । प्रधानमन्त्री बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्न चाहन्छन्, तर कांग्रेस तत्काल सहमत देखिन्न ।

असहमतिकै कारण परराष्ट्रमन्त्री आरजु राणासमेत भ्रमणमा जाने वा नजाने अन्योल बनेको छ । घटनाक्रमलाई हेर्दा प्रधानमन्त्रीको चीन भ्रमण नै के हुने र भ्रमणपछिको सत्ता राजनीति के हुने अन्योलपूर्ण छ ।

असहमतिपछि सार्वजनिकरुपमा नेताहरुको धारणा

बीआरआईका सन्दर्भलाई लिएर दुई दलबिचको विवाद करिब छताछुल्ल अवस्थामा छ । एकले अर्कोलाई उछितो काढ्ने गरी नै दुई दलका नेताहरु सार्वजनिकरुपमा प्रकट हुन थालेका छन् ।

कांग्रेसले बीआरआईलाई ऋणको रुपमा स्वीकार नगर्ने स्पष्ट पारेको छ भने एमालेले ऋण वा अनुदान जे भएपनि स्वीकार गर्नुपर्ने बताएको छ । जसमा नेताहरुबिच दोहोरीको अवस्थासमेत देखिन्छ ।

बीआरआईबारे पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनसँग कुनै हालतमा ऋण सम्झौता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । सँगै महतले चीनसँग विगतका सम्झौता कार्यान्वयनको अवस्था चिन्ताजनक रहेको भन्दै आगामी सम्झौता कार्यान्वयनमा पनि आशंका रहेको बताएका छन् ।

“विआरआईबारे काँग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौँ, हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौँ”, शुक्रबार कांग्रेसले गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले भने, “चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन, अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ ?”

एमालेले बीआरआईमा लिएको अडानमा पनि कांग्रेसले आशंका जनाएको छ ।

असहमतिहरु सार्वजनिक भइरहेकै अवस्थाका बिच एमालेले आवश्यक परे ऋण लिन अघि सर्नुपर्ने अडान सार्वजनिकरुपमै व्यक्त गरेका छन् । एमालेको शक्ति प्रदर्शनअघि महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत नौ बुँदामा ऋण सहायता लिन कसरी गलत भन्दै प्रश्न गरेका छन् ।

“नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघिसार्नु गलत हो ?”, उनले प्रश्न गरेका छन्, “नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ? नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चिनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?”

विवादपछि शक्ति प्रदर्शन

बीआरआईलाई लिएर दुई दलबिच विवाद बढ्दै गर्दा शुक्रबार एमालेले केन्द्रीय राजधानी काठमाडौं केन्द्रित शक्ति प्रदर्शन गर्‍यो । ‘जागरण अभियान’को नाममा प्रदर्शन गरिएपनि मूलतः शक्ति प्रदर्शन कांग्रेसलाई दबाब राख्ने रणनीति लक्षित भएको देखिन्छ ।

एमालेले सरकारको नेतृत्वमा बसेर आफूले निकै राम्रो काम गरेको मात्रै बताएको छैन, सम्भावित कदमबारे पनि व्याख्या गरेको छ । सँगै, एमालेले वर्तमान सत्तालाई लिएर अफबा फैलाइएको भन्दै विरोध गरेको छ । जसमा कांग्रेस लक्षित पनि जवाफ देखिन्छ ।

प्रधानमन्त्री ओलीले कांग्रेसलाई लक्षित गरी आफ्नो चीन भ्रमणबारे सार्वजनिकरुपमा बोलेका छन् । उनले चीन भ्रमणलाई ‘घुम्न जान नलागेको’ बताएका छन् ।

‘म यही १७ गतेदेखि चीन भ्रमणमा जाँदैछु, देशको हित र भलाईको लागि कुनै पनि देशको भ्रमण गरिन्छ। त्यसरी नै हामीले हाम्रा भ्रमणहरुलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ”, कांग्रेसलाई जवाफ दिने शैलीमा उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट