सत्तामै बसेर एमालेले किन गर्यो शक्ति प्रदर्शन ?-Sutra News

सत्तामै बसेर एमालेले किन गर्यो शक्ति प्रदर्शन ?

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं। सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले यतिबेला सडक प्रदर्शनमा छ । मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिन भन्दै शक्ति प्रदर्शनका लागि एमालेले आफ्ना कार्यकर्ता सडकमा उतारेको छ ।



जागरण सभाको नाम दिएको एमालेले शक्ति प्रदर्शनकै लागि एक लाख कार्यकर्ता सडकमा उतार्ने उद्घोष गरेता पनि त्यो संख्या भने हजारमा गन्न सकिने रहेको छ । प्रमुख प्रतिपक्षलगायत विपक्षी दलहरूले सरकारको कामकारबाही र कार्यशैलीको आलोचना गर्दै सडक आन्दोलन गरिरहेका बेला सरकारको नेतृत्वकर्ता दलले समेत प्रदर्शन गरिरहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको थियो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकार विरुद्ध सडक आन्दोलनमा थियो।

एमालेले शक्ति प्रदर्शन गर्दैगर्दा केन्द्रीय राजधानी काठमाडौंमा सहकारी पीडित र मेडिकल व्यवसायी दुर्गा प्रसाइँ समर्थकले पनि सडक प्रदर्शन गरेका छन् ।

विपक्षीलाई जवाफ दिने प्रयास
विपक्षी दलहरुबाट सरकार नेतृत्वप्रति जे–जस्ता प्रश्नहरु उठेका छन्, एमालेलाई नेतृत्वकर्ताको हिसाबले जवाफ दिने तयारीस्वरुप शक्ति प्रदर्शन गरेको देखिन्छ । विशेषगरी संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्राउ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कारबाहीको तयारी, व्यवसायी दुर्गा प्रसाइँमाथिको कारबाहीलगायतका विषयले सरकारमाथि प्रश्न उब्जिएको छ ।

विवादित व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा लेनदेनको गरेको घटनाले पनि सरकार नेतृत्वकर्ता उदाङ्गिएको छ । यस्तोमा चौतर्फीरुपमा प्रश्न उठेको छ । जसलाई चिर्न एमालेले शक्ति प्रदर्शनको आड लिएकोमा दुविधा रहन्न ।

अर्का व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरे पश्चात ओली र एमाले विपक्षीको घेरामा परेको छ । जनस्तरबाटै चर्को आलोचनाको सिकार भएका प्रधानमन्त्री ओली र एमालेले आफूलाई चोख्याउनकै निमित्त दबाब स्वरुप शक्ति प्रदर्शनमा उत्रिएको देखिन्छ ।

कांग्रेसलाई दबाबमा राख्ने रणनीति
पृष्ठभूमिमा जे–जस्ता घटनाक्रम देखिएपनि एमालेको शक्ति प्रदर्शनको पछाडि मुख्य सत्ता साझेदार नेपाली कांग्रेसलाई दबाबमा राख्ने रणनीति भएको कुरा कतै लुक्दैन । कुलमानको सन्दर्भमा होस् वा अहिले चर्चामा रहेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को सन्दर्भमा कांग्रेस र एमालेबिच तिव्र मतभेद छ । जुन मतभेदकै कारण सहकार्य टुट्ने खतरा पनि व्याप्त देखिन्छ ।

शक्ति प्रदर्शनमार्फत कांग्रेसलाई पनि केही सन्दर्भमा जवाफ दिने एमालेको तयारी देखिन्छ । मूलतः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा बढ्दो किचलोलाई कसरी सल्टाउने सकस परिररहेको छ । जसमा शक्ति प्रदर्शनलाई साहारा बनाइएको कतै लुकेको पाइँदैन ।

बिआरआईबारे सहमति जुट्न नसक्दा प्रमुख दुई दलबिच सत्ता सहयात्रा नै टुट्ने सम्मको खतरा देखिएको छ । कांग्रेस आफ्नो धारणामा अडिक रहिरहँदा एमालेलाई सकस बन्दै गएको परिपेक्षमा एमालेले शक्ति प्रदर्शन नै गरेर भए पनि कांग्रेसलाई दबाबमा पार्न खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट