काठमाडौं । ‘जागरण अभियान’को नाममा सत्तारुढ नेकपा (एमाले) गरेको शक्ति प्रदर्शनप्रति प्रश्न उठेको छ । सत्तामै रहेको एमालेले किन र कसका निम्ति शक्ति प्रदर्शन ग¥यो ? शक्ति प्रदर्शन गर्नुको कारण के हो ?
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र शीर्ष अन्य नेताहरुको सम्बोधनलाई केलाउँदा शक्ति प्रदर्शन विशेषगरी सत्ता साझेदार नेपाली कांग्रेसलाई दबाबमा राख्ने र विपक्षीको आलोचना गर्नमा केन्द्रित भएको पाइन्छ । आफूमाथि लागेको आरोप पखाल्ने मेसोको रुपमा पनि शक्ति प्रदर्शनलाई प्रयोग गरिएको कुरा लुकेको छैन ।
प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वस्त पार्ने प्रयास गरे भने विपक्षीहरुले उठाएका प्रश्नको खण्डन गर्ने प्रयास गरे । साथै, उनले विपक्षीको विरोधमा पनि करिब सम्बोधन केन्द्रित गराए ।
‘चिनियाँ कार्ड’ र ‘कम्बोडिया काण्ड’बारेको जवाफ पनि सोही शिलशिलाका रुपमा लिन सकिन्छ ।
काठमाडौंको दरबारमार्गबाट ओलीले विशेषगरी पाँच सन्दर्भ उठाएका छन् । जसलाई यहाँ चर्चा गरिएको छ ।
बीआरआईबारे उठेको मतभेदमाथिको जवाफ
अहिले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)का बिच बीआरआई परियोजना कार्यान्वयन सम्झौताको विषयलाई लिएर विवाद छ । कांग्रेसले बीआरआईलाई निःशर्त अनुदानको रुपमा मात्रै स्वीकार गर्न सकिने बताइरहेको छ भने एमालेले ऋणको रुपमा समेत लिन सकिने बताइरहेको छ । जसलाई लिएर दुई दलबिच मतभेद चुलिँदो छ ।
मतभेदकै बिच प्रधानमन्त्री ओलीको चीन भ्रमण नै के हुने अन्योलपूर्ण रहेको देखिन्छ । यस्तोमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई चित्त बुझाउने गरी बीआरआई कार्यान्वयन सम्झौताबारे बोलेका छन् । उनले ऋणमा सम्झौता नगर्ने आश्वासन दिएका छन् ।
“हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौ, अहिले ऋण लिने मनस्थिति र अवस्था पनि छैन, तर हामीले उत्पादन बढाउनुपर्छ, आफैंले उन्नति गर्नुपर्छ”, बीआरआई किचलोबारे ओलीले भनेका छन् ।
यद्यपि, ओलीले कांग्रेसलाई पूर्ण आश्वस्त पार्ने गरी भने जवाफ दिएको पाइँदैन ।
फेरि दोहो¥याए आश्वासन
ओलीले फेरि एक पटक असार १७ मा भएको ७ बुँदे सहमतिको अंशलाई दोहो¥याएका छन् । उनले कांग्रेसलाई सहमतिअनुसार नै सत्ता सुम्पने आश्वासन दिएका छन् ।
“२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ”, ओलीले आश्वस्त पार्दै भने, “सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ, म अब २०८३ असारसम्म मात्रै प्रधानमन्त्री रहन्छु, त्यसपछि देउवालाई नै जिम्मा लगाउँछु ।”
उनले गठबन्धन भत्किन्छ भन्ने चर्चा मिथ्या हल्ला भएको दाबी गरेका छन् । उनले कांग्रेस र एमालेबिचको सहकार्य बलियो रहेको पनि दाबी गरे ।
कम्बोडिया काण्डबारे स्पष्टीकरण
प्रधानमन्त्री ओली अहिले मेडिकल व्यवसायी दुर्गा प्रसाइँले चर्चामा ल्याएको ‘कम्बोडिया काण्ड’बाट विवादित बनेका छन् । जसबारे आमरुपमा प्रश्न उठेको छ ।
शक्ति प्रदर्शनको सभालाई प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा भएको भनिएको लगानीको चर्चाबारे खण्डन गर्न पनि समय खर्चिएका छन् । प्रसाइँले लगाएको आरोपको खण्डन गर्दै उनले त्यसको पुष्टि गर्न चुनौति दिए । उनले अमेरिकी बैंकमा आधा लगानी मेरै छ भन्दै व्यंग्यात्मक जवाफ पनि दिएका छन् ।
“ भन्नलाई त भने भयो, अमेरिकी बैंकमा आधा लगानी मेरै छ”, ओलीले भने, “हल्ला चलाउनेहरूलाई सुझाव छ, कम्बोडियामा जहाज चढेर ४ घण्टामा पुगिन्छ, यहाँबाट बैंकक गएपछि, त्यहाँबाट ४५ मिनेटमा कम्बोडियामा पुगिन्छ, त्यहीँको लगानी पनि थाहा हुँदैन र ? आरोप लगाउनेले त्यहीँ गएर खोजी गरून् ।”
प्रचण्डविरुद्ध आक्रोश
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन विपक्षीलाई गाली गर्नमा पनि प्रयोग गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि कडा आपत्ति मात्रै जनाएनन् ‘वाहियात र कायर’ भन्दै विरोध गरे ।
ओलीले प्रचण्डलाई संविधान, कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रबारे पढाएका छन् । प्रचण्डले आसन्न चीन भ्रमणलाई ‘चिनियाँ कार्ड’को रुपमा टिप्पणी गरेपछि आक्रोशित बनेका ओलीले निकै अपरिपक्क भनेका छन् ।
“हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं, कतिले के-के न व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो !!! कस्तो हुन्छ परिपक्व भनेको ? कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन्”, ओलीले भनेका छन् ।
रवि, कुलमान र प्रसाइँमाथि आक्रोश
ओलीले सम्बोधनका क्रममा अहिले चर्चामा रहेका तीन पात्र रास्वपा सभापति रवि लामिछाने, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र मेडिकल व्यवसायी दुर्गा प्रसाइँप्रति निकै आक्रोश पोखे । उनले लामिछानेलाई ‘आफैं ठग भएर अरुलाई गाली गर्ने’ भन्दै आलोचना गरे ।
“यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?”, ओलीले भने, “उल्टे चोर, कोतवालको डाँटे !”
विशेषगरी लामिछानेमाथि ओलीले आफूलक्षित विरोध प्रदर्शन आह्वानको आलोचना गरेका थिए । उनले कुनै पनि भ्रष्टचार र भ्रष्टचारी सह्य नहुने कथ्य सुनाएका थिए ।
प्रधानमन्त्रीले ओलीले आफ्नो सम्बोधनको समय विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गविरुद्ध आक्रोश पोख्नमा पनि लगाए । उनले घिसिङ्गलाई अर्थतन्त्र ध्वस्त बनाउन लागेको भन्दै आरोप लगाए ।
“बक्यौता उठाउन नसक्ने, अनि लाइन काट्दै हिँड्ने, अर्थतन्त्र ध्वस्त बनाउन खोज्ने, रोजगारी खोस्ने काम भइरहेको छ”, घिसिङ्गलाई लक्षित गर्दै ओलीले भने ।
प्रधानमन्त्री ओलीले दरबारमार्गको मञ्चलाई प्रयोग गरी मेडिकल व्यवसायी दुर्गा प्रसाइँमाथि पनि आक्रोश पोखे । उनले प्रसाइँले ढाँटले खेति गरिरहेको भन्दै ढाँटको खेति सह्य नहुने बताए ।
“लोकप्रियतावाद भन्ने शब्द मिलेको छैन, ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन, मान्छेलाई नभएको कुरा हो भनेर अनेक प्रकारका नक्कली चिर्कटा देखाएर हुँदैन”, प्रसाइँलाइृ लक्षित गर्दै ओलीले भने, “मान्छेलाई ढाँटेर, अल्मल्याएर, झुटो कुरा गरेर हुन्छ ?”