काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले देशको अर्थतन्त्रमा समस्या सिर्जना गरेको बताएका छन् । नेपाली कांग्रेसले शुक्रबार आयोजना गरेको अर्थतन्त्र सुधारसम्बन्धी कार्यक्रममा ढकालले सरकारले तय गरेका नीति नै समस्या बन्दै गएको बताए ।
कार्यक्रममा ढकालले सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने समेत बताए । उनले निजीक्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिने तर समग्र निजीक्षेत्रको मानमर्दन गर्न नहुने बताए । उनले व्यवसाय दर्ता, नवीकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिए ।
साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औँल्याउँदै महासंघले यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी ढकालले दिए ।
नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उनको टिप्पणी छ । ढकालले निजीक्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराए ।