काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । कात्तिक ३० देखि प्रदर्शनमा आएको फिल्मले पहिलो सातामा सुखद व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।
फिल्म वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएअनुसार फिल्मले पहिलो ७ दिनमा ५ करोड ५४ लाख रुपैयाँ ग्रस कमाई गरेको छ । फिल्मले बिहीबार मात्रै ५० लाख रुपैयाँ कमाएको थियो ।
सरदर नेपाली फिल्मभन्दा ठूलो बजेटमा बनेको फिल्मको व्यापारबारे चासो भइरहँदा अभिनेत्री नीता ढुंगानाले आफूहरु ‘सेभ जोन’मा भएको बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले घरेलु बक्सअफिसको आम्दानी, ओटिटी प्लेटफर्मको बिक्री र हिन्दी संस्करणको बिक्रीलगायतले आफूहरुको लगानी उठेको उनले बताइन् ।
“नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको छौं र, केही समय पछाडि भारतमा पनि हामीले थ्रिएटर रिलिज गर्नेछौं”, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, “ओभरसिसको पनि प्लानिङ भइसकेको छ, केही समय, केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौं भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ र, पूर्ण रूपले हामी सेभ भइसकेको छौं ।”
हुन पनि शुक्रबारदेखि दुई नेपाली फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ हलमा थपिएपनि ‘ह्रस्व दीर्घ’को क्रेज घटेको छैन । उच्च शो पाएको ‘ह्रस्वदीर्घ’को अधिकांश शो हाउसफूलको अवस्थामा छन् । जसले शुक्रबार र शनिबार राम्रै आम्दानी गरेको संकेत गर्दछ ।
नीता हरिहर शीर्ष भूमिकामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा भारतीय चर्चित कलाकार ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मालगायतको अभिनय छ । फिल्ममा सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मालगायतको पनि अभिनय रहेको छ ।