काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउने आदेश गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले आइतबार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइपछि प्रसाईंलाई उपस्थित गराउन आदेश जारी गरेको हो ।
सर्वोच्चले प्रसाईंलाई थुनामा राख्नुको कारण सोध्दै कारण देखाऊ आदेश जारी गरेको छ । प्रसाईंलाई अर्को पेसीमा उपस्थित गराउन आदेश दिइएको छ ।
प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गएको शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
यही मंसिर ४ गते प्रसाईंलाई सीआईबी टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । हाल उनी नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानमा हिरासतमा छन् ।
प्रसाईं अदालतमा उपस्थित भई आफूले सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सकेमा हिरासतमुक्त हुन सक्छन् । तर, प्रमाण पेस गर्न नसके जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आधार बन्न सक्छ ।
प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी र टंक दुलाले बहस गरेका थिए ।