काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नै सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार १३.०३ अंकले घट्दै नेप्से २६६७.४० अंकको ओर्लिएको छ ।
सूचकसँगै आज कारोबार रकम पनि यसअघिको कारोबार दिनको तुलनामा घटेको छ । आइतबार १ करोड ५२ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ७२ करोडमै सीमित भयो । यसअघि बिहीबार ८ अर्बभन्दा माथिको कारोबार भएको थियो ।
आज लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे । कारोबारमा आएका २४४ कम्पनीमध्ये १८१ को मूल्य घट्यो भने ५५ को मूल्य बढ्यो । ८ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
आज कारोबार रकमका आधारमा जानकी फाइनान्स, एनआरएन इन्फास्टक्चर, न्याग्दी गु्रप कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे ।
जानकी फाइनान्सको मात्रै आज ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
२८ सयको मनोविज्ञानलाई छुन खोजेको नेप्से केही कारोबार दिनदेखि नै ओरालोमा छ । योबिचमा नेप्से २६ सयको बिन्दुमा मात्रै झरेको छैन, थप झर्ने अवस्थामा देखिन्छ । यसले सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान अन्योलग्रस्त रहेको जनाउँछ ।
विशेषगरी सेयर बजारमा मुख्य लगानीकर्ताहरुले मौद्रिक नीतिको समीक्षा पर्खिरहेका छन् । सँगै केही राजनीतिक अन्योलताले पनि उनीहरुलाई अलमल पारेको छ । जसका बिच उनीहरु सक्रिय नहुँदा बजारमा उत्साह जाग्न सकिरहेको छैन ।