रवि बिना यता न उताको बन्यो रास्वपा-Sutra News

रवि बिना यता न उताको बन्यो रास्वपा

आइतबार, ९ मंसिर २०८१

आइतबार, ९ मंसिर २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच सातादेखि प्रहरी हिरासतमा छन् । कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई आइतबारसमेत गरी अनुसन्धान लागि भन्दै अदालतले पाँचौँ पटक म्याद थप गरेको छ । आइतबारको आदेशसँगै अब लामिछानेको हिरासत बसाई थप १५ दिन लम्बिएको छ ।



लामिछानेलाई पोखरास्थित सूर्य दर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा पक्राउ गरिएको छ । जसमा उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान चलाइएको छ ।

योबिचमा लामिछानेलाई अन्यत्र सहकारीको नामबाट पनि पक्राउ पुर्जी जारी गरिएको छ । लामिछानेलाई यसअघि अनुसन्धानकै क्रममा रुपन्देहीसमेत पुर्‍याइएको थियो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान चलाइएकाले लामिछानेलाई ९० दिनसम्म हिरासतमै राखेर प्रहरीले सोधपुछ गर्न सक्छ । जसअनुसार उनको हिरासत बसाई थप लम्बिनेमा दुबिधा छैन ।

यसरी लामिछाने प्रहरीको हिरासतमा दिन बिताइरहँदा उनको पार्टी रास्वपा भने ‘प्यारालाइसिस’को अवस्थामा पुगेको छ । लामिछाने पक्राउसँगै केही दिन सडक प्रदर्शनमा उत्रिएपनि रास्वपा यतिखेर करिब मौन अवस्थामा छ ।

एकातिर रास्वपाका नियमित गतिविधि पूर्ण प्रभावित भएका छन् भने अर्कोतिर जनसम्पर्क पनि टुट्न थालेको छ । लामिछाने हिरासतमै रहिरहँदा देश स्थानीय तहको उपचुनावले तातिएको छ । तर, रास्वपालाई भने उपनिर्वाचन ‘अर्थ न वर्थ’ जस्तो बन्न पुगेको छ ।

अरू त अरू रास्वपाले उपनिर्वाचनमा झन्डै आधा जसो पदमा उम्मेदवार नै पाएन । पाएका ठाउँमा पनि प्रचार–प्रसार गर्न सकेको छैन ।

एकातिर पार्टी सभापतिको रिहाइको निम्ति भन्दै गरिएको सडक प्रदर्शन फिक्का बन्दै जानु र अर्कोतिर चुनावी अभियान कमजोर हुनुले रास्वपाको भविष्य के होला भन्ने प्रश्न उठाउँछ । तर, यस्तो अवस्थामा पनि रास्वपाले अहिलेको सकसबाट विकल्प खोज्न सकेको छैन ।

विडम्बना नै भन्नुपर्छ, संसदको चौथो ठूलो दल रास्वपा लामिछाने बिना निकै कमजोर बन्दै गएको छ । न रास्वपाले कार्यबहाक तोक्दै पार्टीलाई सक्रिय बनाउन सकेको छ न त कार्यबहाक नतोकी कार्यक्रमहरू अगाडि बढाउन सकेको छ । यस्तो परिस्थितिमा रास्वपाको अबको अवस्था के हुने अन्योल देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट