काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । प्रिओपनमा १४.८७ अंकले बढ्दै नेप्से २६८२.२८ को बिन्दुमा उक्लिएको छ ।
प्रिसेसनमा ५९ कम्पनीको कारोबार हुँदा ३७ कम्पनीको मूल्य बढ्यो भने २१ कम्पनीको मूल्य घट्यो । विशेषगरी यो सेसनमा बैंक, हाइड्रो, लघुवित्त लगायतका समूहको कारोबार उच्च रह्यो ।
यसअघिको दिनको तुलनामा यसदिनको प्रिओपन सेसनमा कारोबार रकम पनि बढेको छ । १७ हजार ५१२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ७० लाख ४४ हजार रुपैयाँमाथिको भयो ।
लगातार केही कारोबार दिनदेखि नेप्से घटिरहेको थियो । सँगै कारोबार रकम पनि केही सुस्ताएको थियो ।
यद्यपि, सोमबारको प्रिसेसनसँगै नेप्सेले उछालको संकेत गरेको छ । सरकारले केही नीतिगत परिवर्तनको तयारी गरिरहँदा नेप्सेमा उत्साह देखिन मान्न सकिन्छ ।