काठमाडौं। आइतबार साँझ ७ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना ६ स्थित नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएको हो।
चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका ३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो।
घाइते आरम्भको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार (आज) बिहान ५:३० बजेतिर मृत्यु भएको डीएसपी महतोले जानकारी दिए। अन्य २ घाइतेको भने भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिका १८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका ६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
ट्रक चालक मकवानपुरगढी गाउँपालिका ६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।