काठमाडौं। मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार राजमान महर्जन (मानव) को साथमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ उभिएका छन् । उनी महर्जनलाई समर्थन जनाउँदै यति बेला काठमाडौंमा छन् ।
मेयर साम्पाङ सरसफाई अभियान्ता समेत रहेका उम्मेदवार महर्जनलाई जिताउँनुपर्छ भन्दै चुनावी अभियानमै होमिएका छन् । साम्पाङले महर्जनलाई जिताउन स्वतन्त्र उम्मेदवारहरु मिलाउने कोसिस गरिरहेका छन् । यसैबिच अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उमेदवारी निष्क्रिय गरेका छन् । उनले स्वतन्त्र उम्मेदवार महर्जनलाई सहयोग र समर्थन गर्ने घोषणा गरेका हुन् ।
सोमबार बिहान पाँगामा आयोजित चुनावी प्रचार कार्यक्रममा उनले महर्जनलाई मत दिन आग्रह गरे । महर्जनले केटाकेटी चुनाव चिह्न पाएका छन् । उनले सरसफाइ अभियान चलाउँदै आएका छन् । स्वतन्त्र उमेदवार महर्जन ०६० सालसम्म नेकपा (एमाले)मा आबद्ध थिए ।