काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक (नेप्से) बढेको छ । सोमबार १५.८३ अंकले बढ्दै नेप्से २६८३.२४ को बिन्दुमा उक्लिएको छ ।
यसदिन उत्पादन तथा प्रशोधन र सामूहिक लगानीबाहेकका सबै समूहका सूचक बढे । सबैभन्दा बढी फाइनान्स समूहको सूचक २.२७ प्रतिशतले बढ्यो ।
यसदिन कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य बढ्यो । कारोबारमा आएका २४५ कम्पनीमध्ये १६९ को मूल्य बढ्यो भने ६७ को मूल्य घट्यो । ९ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
सामुदायिक लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्दा, बेस्ट फाइनान्स, सुपर मादी हाइड्रो, कर्पोरेट डेभपलपमेन्ट, स्वाभिमान लघुवित्तलगायतको मूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भयो ।
आज नेप्सेको सूचक बढेपनि कारोबार रकम केही कारोबार दिनको तुलनामा घट्यो । एक करोड २२ लाख ६३ हजार सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको भयो ।
आज कारोबार रकमको आधारमा न्याग्दी ग्रुप शीर्ष स्थानमा रह्यो । जसको मात्रै ५४ करोड ७ लाख बराबरको सेयर किनबेच भयो ।
केही कारोबार दिनदेखि नै नेप्सेमा उत्साह छाउन सकेको छैन । यद्यपि, केही नीतिगत परिवर्तनको चर्चाका बिच नेप्सेले नयाँ गति समात्न खोजेको आभास भएको छ ।
सोमबारसम्मको कारोबारलाई हेर्दा, नेप्सेले उकालो यात्रा समाउन खोजेको संकेत गरेको छ ।