काठमाडौं । जता गयो त्यतै ‘आई लभ यू केपी बा’ को नारा सुन्न खुबै रुचाउँछन् प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तर पछिल्लो समय त्यस किसिमको नारा प्रधानमन्त्री ओलीले नसुनेको धेरै भयो ।
सत्तामा रहेका ओली आफूलाई प्रिय लाग्ने नारा सुन्नकै लागि अनेकौँ सभा र कार्यक्रमको आयोजना गर्न कहिले पार्टीलाई त कहिले मातहतका निकायलाई उर्दी नै जारी गर्छन् । आफ्नो लोकप्रियता देखाउनकै लागि भए पनि खेलकुददेखि सभा सम्मेलनहरूमा उपस्थित भएकै हुन्छन् ।
२०७२ सालमा संविधान जारी भए लगत्तै ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यस समय संविधानको विषयलाई लिएर भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । उक्त समय, उनी एक अठोटका कारण निकै लोकप्रिय बन्न पुगे ।
भारतले नेपालमाथि लगाएको नाकाबन्दी नहटाएसम्म आफू भारत भ्रमणमा नजाने उद्घोष गरेकै कारण उनको लोकप्रियता बढेको थियो । संयोगवश त्यसै समय भारतले पनि नाकाबन्दी खुलायो । त्यसपश्चात उनको लोकप्रियताको सीमा नै रहेन । उनलाई ‘राष्ट्रवादी’ राजनेताको उपमा समेत दिइयो ।
उनी पुग्ने हरेक कार्यक्रममा एमाले मात्र नभई हरेक दलका कार्यकर्ता पुगेकै हुन्थ्यो । कारण थियो, तत्कालीन समयमा उनले बटुलेको लोकप्रियता । सँगै उनको कमेडियन शैलीको प्रस्तुतिलाई पनि धेरैले रोमाञ्चक शैलीमा लिने गर्दछन् ।
माहौलअनुसार प्रस्तुत हुनसक्ने ओलीका हरेक बोलीमा हुने मिठासपन र मनोरञ्जनले उनीप्रति आम नागरिकको आकर्षण बढ्दै जाँदा उनलाई ‘आइ लभ यु केपी बा’ भनेर नारासमेत चलेको पाइन्छ ।
किन घट्यो ओलीको लोकप्रियता ?
पटक–पटक गर्दै गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका ओली पहिले झैँ आज पनि ‘आइ लभ यु केपी बा’को नारा सुन्न चाहन्छन् । तर विडम्बना, जहाँ गयो त्यहीँ ‘मुर्दावाद’को नारा सुन्नुपर्ने बाध्यतामा उनी पुगेका छन् ।
गत कार्तिक १४ गते भएको साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग नेपाल पराजित भएपछि खेल हेर्न गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकले ठुलो स्वरूपमा ‘मुर्दावाद’को नारा लगाए । त्यसपश्चात आफ्नो पक्षमा माहौल देखाउनका लागि तिहारमा दरबारमार्गमा सांस्कृतिक साँझको आयोजना गर्न लगाइयो । तर त्यहाँ पनि उनले सोचे अनुरूप माहौल बनेन । कार्यक्रम हेर्न आएका दर्शकले ओली बोल्दाबोल्दै काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)को पक्षमा नारा लगाएका थिए ।
सत्ताको नेतृत्वकर्ता रहेका ओली आफ्नै काम र अभिव्यक्तिका कारण लोकप्रियता गुमाउँदै गएका छन् । प्रधानमन्त्री भएर स्थानीय सरकार प्रमुखसँग जोरी खोज्नेदेखि सत्ताको आडमा प्रतिपक्षलाई गरेको व्यवहारसम्मले आम नागरिकका नजरमा गिर्दै गएको पाइन्छ ।
आफ्नै कार्यकर्ताको छैन साथ
दुई तिहाई बहुमतसहित सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीविरुद्ध प्रतिपक्ष दलहरू र अन्य अभियान तथा पीडितहरूले निरन्तर सडक आन्दोलन गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीले पक्राउ गरेपश्चात उनले ‘यो सरकार मर्यो हामीलाई जुठो पर्यो’ भन्ने अभिव्यक्ति नै दिएका थिए । सरकारले प्रतिशोधको भावनाले लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै पोखरामा उनका समर्थक निरन्तर ओली सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीका विरुद्ध निरन्तर सडक संघर्ष र नाराबाजी भइरहँदा उनले त्यसकै प्रतिउत्तर दिनैका लागि मंसिर ७ गते एमाले सडकमै उत्रियो । प्रतिपक्षी तथा विपक्षी दलहरू सडकमै रहिरहँदा सत्ताको बागडोर सम्हालिरहेका ओली आफैँ पनि सडकमा उत्रिन बाध्य भए । शक्ति प्रदर्शनकै लागि ओलीले जागरण सभाको नाममा एक लाख कार्यकर्ता सडकमा उतार्न उर्दी जारी गरे ।
एक लाख कार्यकर्ता काठमाडौंमा उतार्ने योजनाका साथ लागि परेको एमाले र ओलीलाई उनकै कार्यकर्ताले साथ नदिएको देखिन्छ । त्यस दिन मुस्किलले तीन हजार मान्छे पनि सडकमा देखिएका थिएनन् ।
चौथो पटक प्रधानमन्त्री हुनुअघिसम्म आफ्नै कार्यकर्ता र आम नागरिकको साथ र समर्थन पाइरहेका ओली सत्तारोहणसँगै लोकप्रियतालाई पनि गुमाउँदै गएकोमा दुबिधा छैन ।