काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं गएको मंगलबारदेखि नेपाल प्रहरीको साइबर ब्युरोको थुनामा छन् । प्रसाईंले युट्युबरहरूलाई बोलाएर कम्बोडियाको टेलिकम कम्पनी आजियाटामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको दाबी गर्दै भिडियो सार्वजनिक गरेका थिए ।
सोही आरोपमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नो पक्राउविरुद्ध प्रसाईं बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत समेत पुगेका थिए । तर, आइतबार (हिजो) सर्वोच्चले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
क्यानसरपीडित प्रसाईं आइतबार राति भने वीर अस्पतालमा भर्ना भएका छन् । उनीमाथि ब्युरोले अनुसन्धान जारी राखेको छ । ब्युरोले प्रसाईंको घरबाट केही कागजात, तीन ल्यापटप र नौ मोबाइल बरामद गरेको छ ।
विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका निम्ति पक्राउ गरिएकाले थप प्रमाण भेटिन सक्ने भन्दै सीआईबीले उनीसहित बरामद सामग्री साइबर ब्युरोमा पठाएको छ । बरामद गरिएको ल्यापटप र मोबाइल जाँचका निम्ति डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाउने ब्युरोको तयारी छ ।
तर, प्रसाईंले आफ्नो फोन र ल्यापटपमा कुनै गलत प्रमाण नभएको दाबी गरेका छन् । स्रोतका अनुसार, अनुुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई उनले भनेका छन्, “मेरो मोबाइलमा कसैको पनि गलत प्रमाणहरू छैनन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भएको फोनको डिटेल होला, त्यो हेर्नू । त्यही हेर्न मन थियो होला, हैन ?”