एमालेलाई जग्गा दानविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याइनेमा-Sutra News

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याइनेमा

सोमबार, १० मंसिर २०८१

सोमबार, १० मंसिर २०८१

काठमाडौं। भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नभ्याउनेमा राखेको छ ।



न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा सोमबार पेशी तोकिएको थियो । तर उनीहरूले समय अभावका कारण उक्त पेशी सोमबार हेर्न नभ्याउनेमा राखेका हुन् । न्यायाधीशद्वयको इजलासमा ‘न’ नम्बरमा पेशी परेको थियो । उक्त पेशीभन्दा अघि अन्य मुद्दाको सुनुवाई भएकाले सोमबार उक्त पेशी हेर्न नभ्याइएको हो ।

यसअघि ७ मंसिरमा न्यायाधीशहरू डा.कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा यो मुद्दाको पेशी तोकिएकोमा उनीहरूको पनि समय अभावका कारण मुद्दा हेर्न भ्याइएको थिएन ।

यो मुद्दामा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ । त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई बोलाइएको थियो ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दशैंको अष्टमीको दिन अर्थात् २५ असोजमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।

ज्ञानबहादुर बस्नेतसहितका रिट निवेदकले भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङले दिएको जग्गाको स्रोत नखुलेकाले गैरकानुनी रूपमा पार्टीले लिन नमिल्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट