यी हुन् युट्युबमा १० करोडभन्दा बढी भ्यूज बटुलेका नेपाली गीत-Sutra News

यी हुन् युट्युबमा १० करोडभन्दा बढी भ्यूज बटुलेका नेपाली गीत

सोमबार, १० मंसिर २०८१

सोमबार, १० मंसिर २०८१

काठमाडौं । पछिल्लो समय नेपाली गीतले पनि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा राम्रो भ्यूज बटुल्न थालेका छन् । विशेषगरी युट्युबमा नेपाली गीतहरूले करोडमा मात्रै होइन, करोडौँमा भिजिटर पाउन थालेका छन् ।



फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु…’ बोलको गीत सबैभन्दा बढी भ्यूज पाउने गीतमा परेको छ । जसले २१ करोडभन्दा माथि भ्यूज बटुलेको छ ।

यहाँ त्यस्ता गीतबारे चर्चा गर्दैछौं, जुन गीतले युट्युब प्लेटफर्ममा १० करोडभन्दा माथि भ्यूज बटुलेका छन् । थाहा पाउनुहोस्, युट्युबमा १० करोडभन्दा माथि भ्यूज बटुल्ने नेपाली गीत ।

१. ‘कुटुमा कुटु…’

फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु…’ बोलको गीत युट्युबमा सबैभन्दा बढी भिजिटर बटुल्ने नेपाली गीत हो । सन् २०१७ को मेमा रिलिज भएको यस गीतले युट्युबमा साढे २१ करोड भ्यूज पाएको छ ।

राजन राज सिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको गीतमा स्वस्तिमा खड्का, आशिफ साह, निश्चल बस्नेतलगायतले अभिनय गरेका छन् ।

२. ‘माया लुकी लुकी…’

द कार्टुन क्रूको गीत ‘माया लुकी लुकी…’ पनि युट्युब प्लेटफर्ममा धेरै हेरिने नेपाली गीतहरूमा पर्दछ । २०१८ जुनमा रिलिज भएको यस गीतले १५ करोड ४२ लाखभन्दा बढी भिजिटर बटुलेको छ । टिका प्रसाईँको स्वरमा रहेको यस गीतमा द कार्टुन क्रूको टिमको अभिनय छ ।

३. ‘साली मन पर्‍यो…’

फिल्म ‘घामड शेरे’को गीत ‘साली मन पर्‍यो…’ युट्युबमा उच्च भ्यूज बटुल्ने अर्को नेपाली गीत हो । २०१९ को अक्टोबरमा रिलिज भएको गीतले १३ करोड ९३ लाख भ्यूज बटुलेको छ । कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर रहेको गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, गौरी मल्ललगायतको अभिनय देख्न पाइन्छ ।

४. ‘पिरिम नलाउने…’

आशिश सचिन र मेलिना राईको स्वरमा रहेको गीत ‘पिरिम नलाउने…’ बोलको नेपाली गीत युट्युबमा उच्च भ्यूज पाउने गीतमध्येमा पर्दछ । ६ वर्ष अगाडि २०१८ अक्टोबरमा रिलिज भएको गीत ‘पिरिम नलाउने…’ले युट्युबमा ११ करोड ४१ लाख भ्यूज बटुलेको छ । गीतमा वर्षा राउत र आशिश सचिवले मुख्य अभिनय गरेका छन् ।

५. ‘दुबो फुल्यो…’

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो…’ उच्च भ्यूज पाउने नेपाली गीतमा पर्दछ । पाँच वर्षअघि २०१९ जुलाई २२ मा सार्वजनिक यस गीतले ११ करोड २१ लाख भ्यूज बटुलेको छ । दयाहाङ राई, उपसना सिंह, कर्मा विल्सनलगायत शीर्ष भूमिकामा देखिएको यस गीतमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर छ ।

६. ‘कसरी कसरी २…’

टंक बुढाथोकीको गीत ‘कसरी कसरी २…’ युट्युबमा उच्च भ्यूज पाउने नेपाली गीत मध्येमा पर्दछ । २०१९ अगस्टमा रिलिज भएको गीतले १० करोड ९० लाखभन्दा बढी भ्यूज बटुलेको छ । टंक बुढाथोकी र मेलिना राईको स्वरमा रहेको गीतमा स्वयम् बुढाथोकी र राईलगायतको अभिनय छ ।

७. ‘फूल बुट्टे सारी…’

युट्युबमा उच्च भ्यूज बटुल्ने गीतमा ‘फूल बुट्टे सारी…’ पनि पर्दछ । २०२० डिसेम्बरमा रिलिज भएको यस गीतले १० करोड ८० लाखभन्दा बढी भिजिटर बटुलेको छ । राजन राज र मिलन नेवारको स्वर रहेको गीतमा पल शाह र मालिका महतको अभिनय छ ।

८. ‘माया बिरानी…’

महेश काफ्ले र मेलिना राईको स्वरमा रहेको गीत ‘माया बिरानी…’ युट्युबमा उच्च भ्यूज बटुल्ने नेपाली गीतमा पर्दछ । २०१९ सेप्टेम्बरमा रिलिज भएको गीतले १० करोड ३२ लाखभन्दा बढी भ्यूज बटुलेको छ । स्वयम् महेश काफ्लेले अभिनय गरेको गीतमा नाजिर हुशेन, आचल शर्मालगायतको अभिनय देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट