काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन् ।
झाक्री भुजेलको गाडीको ठक्कबाट मृत्यु भएका कागेश्वरी मनोहरा–२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गरेका हुन् ।
सो क्रममा उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनुको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने घोषणा गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
गत कात्तिक २८ गते दिउँसो शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पती गम्भीर घाइते भएका थिए । पछि उपचारका क्रममा दुवै जनाको मृत्यु भएको थियो ।