काठमाडौं। जापानमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारी रिहा भएका छन्।
प्रहरीले अनुसन्धान प्रतिवेदनमा प्रतिवादी बनाउन राय दिए पनि सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा नचलाई उन्मुक्ति दिएको हो।
प्रतिवेदनअनुसार पक्राउ परेका ८ जना र फरार ३ जना गरी ११ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरूविरुद्ध मानव तस्करी र लिखतसम्बन्धी कसुरमा अभियोग लगाइएको छ।
तर जापान पुगेर फर्किएका नेकपा एमालेका प्रदेश सांसद अधिकारीले मुद्दाबाट छुटकारा पाएका हुन्।
सो प्रकरणमा खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका २ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका ५ का २१ वर्षीय कञ्चन देवकोटा, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका ७ का २२ वर्षीय जुगल रिजाल, दोलखाको जिरी नगरपालिका ९ का ३० वर्षीय वीरबहादुर सुनुवार, खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई पनि पक्राउ गरेर मुद्दा चलाइएको छ।
मन्त्री अधिकारीको पासपोर्ट लिएर जापान पठाउने मोरङका योगराज गौतम, उदयपुरका दिवाकर भट्टराई र विष्णुप्रसाद भट्टराई भने फरार छन्। कात्तिक २५ गते पक्राउ गरेर अधिकारीसँग पनि प्रहरीले बयान लिएको थियो।
यस्तो छ अधिकारीको बयान
केही समयअगाडि मलाई मेरो छिमेकी रतुवामाई नगरपालिका स्थायी घर भएका मेरो पुरानो साथी गोपाल भन्ने योगराज गौतमले फोन गरी जापानमा एउटा राम्रो कार्यक्रम आयोजना हुँदै छ, आयोजककै खर्चमा जानेगरी पठाइदिन्छु भने।
म यसभन्दा अगाडि पनि वर्ल्ड युथ फेडेरेसनको आयोजनामा दक्षिण अफ्रिकामा भएको विश्व युवा सम्मेलनमा भाग लिइसकेको छु। यस्तै गरी वर्ल्ड पिस काउन्सिलको आयोजनामा फिलिपिन्स, श्रीलंका समेतमा भएको कार्यक्रममा भाग लिइसकेको छु।
त्यस्तै गरी इन्टरनेसनल डेमोक्रेटिक लयर्स एसोसियसनकोको आयोजनमा बेल्जियमको राजधानी ब्रसेल्समा भएको सम्मेलन तथा अमेरिकाको लसभेगासमा लायन्स इन्टरनेसनलको कार्यक्रममा समेत भाग लिइसकेको छु। लायन्स इन्टरनेसनलको कार्यक्रममा बाहेक अन्य कार्यक्रमहरूमा भाग लिन जाँदा आयोजकले नै सबै खर्च बेहोरेका हुँदा जापानमा हुने भनिएको कार्यक्रममा समेत मलाई आयोजकले नै खर्च बेहोर्ने भनि गोपाल भन्ने योगराज गौतमले मलाई भनेकाले म सोहीअनुसार जापानमा गएको हुँदा मैले आयोजक कै खर्चमा जाने हो भने हुन्छ भनेको थिएँ ।
कुराकानी भएको केही दिनपछि निज योगराज गौतमले मेरो राहदानी मागेकाले मैले मेरो राहदानी निजलाई दिएको थिएँ। निजले राहदानी लगेपछि को कसलाई दिए र मेरो राहदानीमा जापानको भिसा लागेको भन्ने कुरा मलाई थाहा भएन। मिति २०८१ कात्तिक १० गते मलाई योगराज गौतमले फोन गरी तपाईंको जापानको फ्लाइट भोलि राती ९ बजेको समयमा छ, टिकट मैले हिजो नै ह्वाट्सएपबाट पठाइदिएको छु भने।
मैले उनलाई कार्यक्रमसम्बन्धी सम्पूर्ण कागजातहरू पठाइदिनु भन्दा निज हुन्छ, हुन्छ भन्दै आलटाल गरी बसे तर पठाएनन्। ११ गते साँझ ५ बजेको समयमा मेरो भिसा लागेको राहदानी, प्लेनको टिकट र कार्यक्रमको सम्पूर्ण कागजातहरू समेत मलाई योगराज गौतमसँग आएका महेश पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको बाहिर रहेको कान्तिपुर क्याफेमा भेटेर दिएका हुन्। सोही समयमा मात्र मैले महेश पाण्डे भन्ने व्यक्तिलाई देखेको र भेटेको हुँ। सोही बेलामा मेरो अंगरक्षकलाई फोटो खिच्न लगाएको थिएँ, सो फोटो पनि मैले प्रहरीलाई तत्कालै पठाइसकेको छु।
महेश पाण्डेले मलाई सबै कागजातहरू यसैमा छ हेर्नु भनिदिएपछि मैले ती कागजातहरू आफ्नो झोलामा राखी अन्तर्राष्टिय विमानस्थलभित्र प्रवेश गरी जापानको लागि क्याथे पेसीफिक विमानबाट जापानतर्फ प्रस्थान गरेको हुँ।
जापानको लागि फ्लाइटबाट हिँडेपछि हङकङमा ट्रान्जिट परेकोले म सोही ट्रान्जिटमा बसिरहेको समयमा मलाई हाल पक्राउ परेका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पासमेत मलाई भेटन आई हामीहरू समेत हजुरसँगै सोही कार्यक्रममा जानको लागि हिँडेको हो भनेपछि मलाई शंका लागि हङकङबाट जापानको लागि हिँडेपछि नारिता विमानस्थलमा झरी इमिग्रेसनमा लाइनमा बसीरहेको अवस्थामा कञ्चन देवकोटा, जनक राई र दावा शेर्पा समेतले हामीहरूलाई समेत सँगै लानु भन्दा मैले निजहरूलाई म तपाईंहरूलाई चिन्दिनँ, म एक्लै आएको हुँ भने।
उनीहरूले कसरी चिन्नु हुन्न ? हामी तपाईंकै कर्मचारी हौँ भनी जनक राईले म मन्त्री रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारी परिचयपत्रसमेत देखाएपछि मैले सोही परिचयपत्र तत्कालै आफ्नो हातको हत्केलामा राखी मोबाइलबाट फोटो खिचेँ।
प्रस्ट रूपमा थाहा भयो कि मलाई निमित्त कार्यालय प्रमुखको रूपमा उल्लेख गरी किर्ते परिचयपत्र बनाएको देखिएबाट यिनीहरूले मेरो सही छाप किर्ते गरी म तत्काल कार्यरत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कार्ड प्रयोग गरेका रहेछन्। मेरो मन्त्रालयको मेरो सही छापसमेत किर्ते गरी परिचयपत्रसमेत बनाएको थाहा पाएपछि यससम्बन्धी सम्पूर्ण सूचनाहरू जापानको नारिता विमानस्थलबाटै कोसी प्रदेश प्रहरी प्रमुख र प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई ह्वाट्सएपमार्फत मेरो सही छाप किर्ते गरी बनाएको कर्मचारी परिचयपत्रको फोटो, कार्यक्रमको सम्पूर्ण कागजातहरू अपराध अनुसन्धानका लागि मैले पठाएको हुँ।
म नारिता विमानस्थलबाटै मलाई फिर्ता गरिदिनु म कार्यक्रममा जान्नँ भनी फिर्ता आएको हुँ। यसरी मानव तस्कर तथा किर्तेसम्बन्धी अपराधबारे मौकामै आफूलाई थाहा हुने बित्तिकै प्रहरीलाई सुचना गर्ने व्यक्ति म हुँ। म यस अपराध घटनाको पीडित र अपराधको पहिलो सूचकसमेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन।
मसँग हङकङमा भेट भएका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धानसमेत भइरहेको छ। मेरो हैसियत भनेको अपराधको सूचना दिने सरकारी गवाह हो मेरो र मेरो मन्त्रालयको सही छाप र परिचयपत्र किर्ते गरी बनाएको हुँदा म आफैँ पीडित हुँ, दोषीमाथी कारबाही गरी मैले न्याय पाऊँ।
जनक राई र कञ्चन देवकोटाको नाममा कोसी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगर लेखिएको कर्मचारी परिचयपत्रको डिजिटल कार्डहरू म सोही मन्त्रालयको मन्त्री भएको हुँदा ती कार्डहरू किर्ते गरी बनाएका नक्कली कार्डहरू हुन्।
जनक राई र कञ्चन देवकोटा कोसी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरका कर्मचारीहरू होइनन्।
निजहरूको नाममा बनेको कर्मचारी परिचयपत्रको डिजिटल कार्डमा मेरो नाम लेखी सहीसमेत गरेको सहीछाप मेरो होइन।
मेरो सहीछापसमेत किर्ते गरेको हो। जापानमा हुने कार्यक्रममा सहभागी हुनको लागि म नेपालबाट उड्नुभन्दा केही समयअगाडि मात्र महेश पाण्डेले मलाई मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको कागजातहरू दिएकाले मैले सबै कागजातहरू हेर्न भ्याएको थिएन। के कसरी, को कसले कञ्चन देवकोटाको नाममा एउटै होटल बुकको कसले गरेका हुन्, मलाई थाहा भएन।
म नेपालबाट जापानमा हुने कार्यक्रममा भाग लिन जाँदा एक्लै गएको र सो कार्यक्रममा म जानुभन्दा अगाडि कञ्चन देवकोटासमेतका प्रतिवादीहरू मसँग नै जापानमा जाँदै छन् भन्ने कुराको जानकारी मलाई थिएन। कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मैले हङकङमा मात्र भेटेको हुँदा निजहरूलाई को कसले के कति रकम लिई जापानमा पठाएका हुन्, मलाई थाहा भएन।
निजहरूबाट मैले कुनै पनि रकम लिएको छैन। जापानमा हुने ७ दिनको कार्यक्रममा सहभागी गराउने आयोजकहरू को हुन्, मलाई थाहा भएन। आयोजकसँग मेरो सम्पर्क चिनजानसमेत छैन। गोपाल भन्ने योगराज गौतम मेरो छिमेकी नगरपालिकाका स्थानीय बासिन्दा र मेरो पुरानो साथी भएकाले राम्रोसँग चिन्दछु। महेश पाण्डेलाई मैले मिति २०८१ कात्तिक ११ गते मात्र भेटेको हुँ।
कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई म चिन्दिनँ। निजहरूलाई को कसले जापान पठाएका हुन्, मलाई थाहा छैन । मलाई जापानमा कार्यक्रम हुँदै छ, आयोजकले खर्च बेहोर्छन् जाने भनी मलाई योगराज गौतमले सोधेकाले मैले हुन्छ भनेपछि निजले मेरो राहदानीसमेत लगी को, कसलाई भनी भिसा लगाएका हुन्, मलाई थाहा भएन।
म जापान उड्ने दिनमा मात्र मलाई महेश पाण्डे भन्ने व्यक्तिले भिसा लागेको राहदानीसमेतका कागजातहरू दिएको भन्ने कुरा मैले माथि नै बयानको क्रममा खुलाई लेखाइसकेको छु। म हङकङको ट्रान्जिटमा रहेको अवस्थामा निजहरूले मलाई नमस्कार भन्दै आए, मलाई कसरी चिन्नु भयो भनी सोध्दा निजहरूले हामीहरूलाई कसैले फोटो पठाएको थियो, सोही फोटोमार्फत चिनेका हौँ भनेकाले निजहरूसँग मेरो हङकङमा भेटघाट हुनु एक संयोग मात्र हो।
निजहरूसँग मेरो सोभन्दा अगाडि चिनजान, सम्पर्क, भेटघाट केही थिएन र छैन। निजहरूले साथमा बोकेको कर्मचारी परिचयपत्र नक्कली भन्ने कुरा मैले थाहा पाउनेबित्तिकै यिनीहरूले मलाई नियोजित ढंगले प्रयोग गरेको कुरा थाहा पाउनासाथ तत्कालै मैले आफू जापानको कार्यक्रममा भाग लिन जान्नँ भनी नारिता विमानस्थलबाटै फिर्ता भई किर्ते गरी परिचयपत्र बनाई तस्करी भएको सम्बन्धमा मैले तत्कालै प्रहरीलाई जानकारी गराई अपराधमा संलग्न मानिसहरूलाई पक्राउ गर्न सहयोग गरेको हुँ।