काठमाडौं। सिराहा, सिन्धुली र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सिराहा, बरियारपट्टी गाउँपालिका-३ बलुवा टोलस्थित सडकमा ज.१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
सिन्धुली, मरिण गाउँपालिका ७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा-प्र ०३-००१ च १६२३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई उक्त बोलेरो पल्टिएर लाग्दा सडक पेटीमा बसिरहेकी पैदलयात्री मरिण गाउँपालिका ७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । कार र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका १ पश्चिम बस स्ट्याण्डस्थित सडकमा प्र.१-०२-०४० प ६०२५ नम्बरको मोटरसाइकललाई एनएल-०१ एडी ५५११ नम्बरको लहरीले सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका ११ कुबिदा टोल बस्ने २० वर्षीय टार्जन राईको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।