काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी लगाउन माग गरेका छन् । उनले कम्बोडिया प्रकरण छानविनका लागि संसदीय समिति बनाउनसमेत माग गरेका छन् ।
‘देशका प्रधानमन्त्री खड्ग प्रसाद ओलीजीलाई छानविन गरियोस् । कम्बोडिया काण्डमा हत्कडी हालेर छानविन गर्नुपर्छ,’– उनले भने, ‘…त्यो भिडिओ एक जना को मान्छेले सार्वजनिक गर्यो भन्ने विषय होईन ।
तपाईँ कम्बोडिया गएको मिति र हस्ताक्षर गरेको मिति एउटै छ । भोलि तपाईँ दोषी, निर्दोष के हो भन्ने अदालतले छानविन गर्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय छानविन समितिको आवश्यक्ता ठानेको छ ।’
उनले दुई तिहाइको सरकारको प्रधानमन्त्री सडकमा आएर जात्रा गरेको टिप्पणी गरे । नेकपा (एमाले) ले दरबारमार्गमा आयोजना गरेको कार्यक्रमप्रति टिप्पणी गर्दै उनले भने, ‘सडकमा आएर नाटक देखाउनुहुन्छ ।
उहाँले कस्का लागि देखाएको हो त्यो नाटक ? प्रश्न गर्दै उनले भने, ‘…कसका लागि सडकमा आएको ? किन सडकमा आएको ? के गर्न आएको ? जात्रा देखाउन र गिरीबन्धु टि स्टेट र कम्बोडियामा पैसा छैन भनेर जनतामा भ्रम छर्न सडकमा आएको हो ? राप्रपा त्यो पत्याउँदैन । संसद्मा जवाफ माग्छौं ।’