काठमाडौं । व्यापारी मीनबहादुर गुरुङसँग जग्गा लेनदेनको विषय बाहिरिएपछि एमालेका तीन नेताले मात्रै मुख खोलेर विरोध गरे । जसमा पूर्व उपाध्यक्ष भीम रावल, स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिना थिए । तर, मुख खोल्ने तीनमाथि लगत्तै पार्टीले कारबाहीको तयारीस्वरुप स्पष्टीकरण सोध्यो ।
एमालेको ३९ औँ सचिवालयको बैठकले नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसमा तीन नेताहरूले पार्टीको प्रतिष्ठामा आँच आउने गरी जथाभाबी बोलेको निष्कर्ष निकालिएको थियो ।
पाण्डे र तिम्सिनालाई जग्गा प्रकरणको विरोध गरेकामा मात्रै स्पष्टीकरण सोधिएको थियो भने रावललाई भने अन्य सन्दर्भका बालेका विषयमा समेत प्रश्न उठाइएको थियो । स्पष्टीकरण सोधिएका नेताहरूलाई हालसम्म कुनै कारबाही भएको छैन । यद्यपि, स्पष्टीकरण कारबाही गर्ने मनसायबाटै सोधिएको पाइन्छ ।
केन्द्रका तीन नेतामाथि कारबाही चलाइँदै गर्दा एमालेले लुम्बिनीका प्रदेशसभा सदस्यसमेत रहेका नेता दुर्गा चौधरीलाई पार्टीबाटै निलम्बन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलविरुद्ध बोलेको भन्दै चौधरीमाथि कारबाही गरिएको हो ।
पार्टी केन्द्रको निर्णयअनुसार एमाले बाँके कमिटीले चौधरीलाई निलम्बनको कारबाही गरेको छ ।
‘पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यता विपरीत सार्वजनिकरुपमा गाली गलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता तथा कार्यकर्तालाई खुइल्याउने, पार्टीका विरुद्ध समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईँलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो, स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरी प्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्ध लिखित जवाफ दिनुभएको हुँदा तपाईँलाई पार्टी विधानको धारा ८१(७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुसार पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी गराउँछु’, एमालेको जिल्ला कमिटी बाँकेका अध्यक्ष निरक गुरुङले चौधरीलाई पत्र लेखेका छन् ।
चौधरीसम्मको घटनाले एमालेमा नेतृत्व विरुद्ध उभिने जो कोही पनि सकिने स्थितिमा रहेको संकेत गर्दछ ।
वामपन्थी विश्लेषक मुकुन्द आचार्य एमालेमा तानाशाही शैलीको अभ्यास सुरु भएको बताउँछन् । उनका अनुसार ओलीले अभ्यास गराएको शैली रोमानियामा निकोलाई चाउचेस्कुले पनि गरेका थिए ।
‘एमालेमा जनवादलाई निषेध गरेर अति केन्द्रीयतावाद लागु गरिएको छ, यो मुख्यगरी ओलीमा पलाएको तानाशाली शैलीको परिणाम हो’, आचार्य भन्छन्, ‘निकोलाई चाउचेस्कुले पनि १८ सयको दशकमा यस्तै अभियान चलाएका थिए, जसको सिको ओलीले गरिरहेका छन् ।’
यसले पार्टीलाई धराशायी बनाउने र भित्रबाटै खोक्रो बनाउने उनको बुझाई छ । सँगै एमालेमा एमालेमा जनवाद मर्दै गएको विश्लेषण आचार्यको छ ।
सत्ताको नेतृत्वकर्ता र ठुलो जनमत होल्ड गर्ने पार्टीभित्रको यस्तो परिपाटीले देशकै लोकतन्त्रमाथि समेत खतरा संकेत गर्ने आचार्य बताउँछन् । ‘एमाले कुनै एउटा दल मात्रै होइन, यसले देशकै नेतृत्व गरेको छ, एमालेभित्रको यस्तो शैलीले देशकै लोकतन्त्रमाथि खतरा औंलाउँछ, यो राम्रो संकेत होइन’, उनले भने ।