कांग्रेस–एमाले प्रतिस्पर्धामा उत्रिँदा माओवादीलाई लाभ, हर्कको क्रेजबाट चुनाव जित्ने दाउमा स्वतन्त्र-Sutra News

कांग्रेस–एमाले प्रतिस्पर्धामा उत्रिँदा माओवादीलाई लाभ, हर्कको क्रेजबाट चुनाव जित्ने दाउमा स्वतन्त्र

बुधबार, १२ मंसिर २०८१

बुधबार, १२ मंसिर २०८१

काठमाडौं । मंसिर १६ गते देशका विभिन्न स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । यसरी विभिन्न ठाउँमा, विभिन्न पदका लागि उपनिर्वाचन हुँदै गर्दा सबैभन्दा चर्चा र चासोको केन्द्रमा भने काठमाडौंको कीर्तिपुर परेको छ ।



नेपाली कांग्रेसबाट विजयी राजकुमार नकर्मीको निधन भएसँगै कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुरको प्रमुख बन्न २० जनाको उम्मेवारी परेको छ । जसमध्ये ११ दलीय उम्मेदवार छन् भने ९ जना स्वतन्त्र छन् ।

२० जनाको उम्मेदवारी परेपनि चर्चा भने विशेषगरी ४ जना उम्मेदवारको भइरहेको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेवारी दिएका कृष्णमान डंगोल, एमालेका डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र राजमान मानव अहिले चर्चाको केन्द्रमा छन् ।

प्रचार–प्रसार र घरदैलो कार्यक्रमलाई हेर्दा पनि यीनै चार उम्मेदवारको चर्चा बढी भएको पाइन्छ । उपनिर्वाचनमा रास्वपाले उम्मेदवारी दिएको छैन भने एकीकृत समाजवादी र नेपाल समाजवादीको महेन्द्र राय यादव समूहले माओवादी उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेको छ ।

गत निर्वाचनमा कांग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याउँदै जित हात पारेका थिए । नकर्मी विजयी हुँदा एमालेका केशवरत्न बज्राचार्यले ५ हजार ५ सय ७ र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४ हजार ९० मत प्राप्त गरेका थिए । मुख्य तीन दलका उम्मेदवारबिच प्रतिस्पर्धा हुँदा एकीकृत समाजवादीका उम्मेदवार बटुककृष्ण थापाले ११ सय ५३ मत पाएका थिए ।

यसपटक कीर्तिपुरको सिनारियो केही फेरिएको छ । सत्ता सहकार्यमा रहेका कांग्रेस र एमाले नै प्रतिस्पर्धामा उत्रिँदा माओवादी केन्द्रले अन्य साना दलको सहयोग लिँदै आफूलाई बलियो देखाएको छ ।

कीर्तिपुरमा कांग्रेसलाई विगतकै इतिहास दोहोर्‍याउने दबाब हुँदा एमालेलाई कांग्रेसलाई विस्थापित गर्दै कसरी कीर्तिपुरको किल्ला ब्यूँताउने भन्ने प्रश्न छ । माओवादीलाई भने दुई मुख्य दल सत्ता सहकार्यमा रहेको र केही सन्दर्भमा बदनामित भएको कारण सो सन्दर्भबाट लाभ लिने अवसर जुटेको छ । एमाले बदनामित भएको जग्गा लेनदेनको घटना कीर्तिपुरभित्रकै हो ।

सँगै माओवादी केन्द्रका उम्मेदवार निष्कलंकित मात्रै छैनन्, बौद्धिक नेताको रुपमा परिचित छन् । उनले दुई साना दलको साथसमेत पाएका छन् । यस्तोमा उनले मत बढाउनेमा दुविधा छैन । कांग्रेस र एमालेका उम्मेवारसँग खास एजेन्डा नहुँदा लाभ माओवादीका प्रा.डा. शिवशरणलाई परेको छ ।

यता, धरानका मेयर हर्क साम्पाङ स्वतन्त्र उम्मेदवार राजमान मानवको पक्षमा घरदैलोमा गएका छन् । उनको साथले राजमान उत्साहित देखिन्छन् । उनले घरदैलोमा आफ्नो नारा नै ‘कीर्तिपुरको हर्क साम्पाङ बन्ने’ भन्ने बनाएका छन् ।

साम्पाङको क्रेज कीर्तिपुरमा के–कति पर्ला र त्यसको लाभ राजमानले के–कति उठाउलान् आफ्नो ठाउँमा छ, तर माहोललाई हेर्दा कीर्तिपुरमा दलीय तीन उम्मेदवार र स्वतन्त्र उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ ।

विगतको चुनावको नतिजालाई हेर्दा पनि राप्रपालगायतको उपस्थिति बलियो हुने विषयमा प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट