काठमाडौं। नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ । भोली बिहीबारबाट सिनेमा अष्ट्रेलियावाइड रिलिज हुने भएको हो । सिनेमाको अष्ट्रेलिया रिलिज युनाइटेड सिनेमाज र भिलेज सिनेमाले रिलिज गर्न लागेका हुन् ।
यो सिनेमा अष्ट्रेलियाको सवैजसो सहरमा रिलिज हुन लागेको अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले बताइन् । नेपालमा दर्शकबाट अत्याधिक माया पाएसँगै सिनेमाको विदेशमा माग बढेको दाबी अभिनेत्री ढुंगानाको छ । नेपालमा दोस्रो हप्तामा पनि उत्साहजनक व्यापार गरिरहेको सिनेमाको लागी अभिनेत्री ढुंगानासहितको टिम दर्शकसँग साक्षात्कार गर्न मोफसल दौडाहमा छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।