काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा तत्काल बिजुली नकाट्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएपछि बसेकाे प्राधिकरणको सञ्चालक समितिकाे बैठकले यस्तो निर्णय गरेको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले बिजुली नकाट्ने तर, वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको प्राधिकरणका एक कर्मचारीले जानकारी दिएका छन् ।
यसअघि प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो ।
गत कात्तिक २५ मा मन्त्रिपरिषद् बैठकले बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो। सोलगत्तै २७ गतेको बोर्ड बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
तर, मन्त्रिपरिषद्को उक्त निर्णयपछि प्राधिकरणले सार्वजनिक सूचनामार्फत बक्यौता नउठे १५ दिनभित्र पुनः लाइन काटिदिने बताएकाे थियाे । जसकाे मिति सकिँदै गर्दा आयोगकाे निर्देशनपछि प्राधिकरणको सञ्चालक समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे ।