काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना निवेदनलाई गम्भीर रूपमा लिँदै उनीहरूले सार्वजनिक रूपमा गरेका भाषणहरूको क्लिपसहितका विवरण पेस गर्न आदेश गरेको छ ।
न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार आदेश गर्दै निवेदकलाई सम्पूर्ण कागजातहरू पेस गर्न भनेको छ । सर्वोच्चले भिडियोमा भनिएका कुरा उतार गरेर समेत पेस गर्न भनेकाले अदालतले यसलाई गम्भीर रूपमा लिएको देखिन्छ । अदालतको अवहेलना निवेदनमा सहकारी ठगी प्रकरणमा अदालतको अनुमतिले थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन चर्काउँदा अदालतको जनआस्थामा असर पर्ने गतिविधी गरेको दाबी गरिएको थियो ।
अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको निवेदनमा उल्लेख छ । निवेदनमा रास्वपाका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।