काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा आचारसंहिता अनुगमन टोली खटाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मंसिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो । चुनाव प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना गरेनरगरेको अनुगमनका लागि आयोगले अनुगमन टोली खटाएको हो ।
आयोगकी प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालका अनुसार कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका एसएसपी दीपक रेग्मी, सशस्त्र प्रहरीका एसपी अशोक न्यौपाने, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी खटिएका छन् । यस्तै, काठमाडौं १६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका एसएसपी दिगविजय सुवेदी, उपसचिव सीता पुन श्रीष र एसपी सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको छ ।