काठमाडौं । नेकपा (एमाले)बाट कारबाही स्वरूप निलम्बित बनेका लुम्बिनी प्रदेशका सांसद दुर्गा प्रसाद चौधरीले पदको भिक्षा मागेर जनतासँग गद्दारी नगर्ने बताएका छन् । विगतमा राजतन्त्र फाल्न ज्यानको बाजी लाएर लडेको भन्दै उनले अहिले पदको लागि गद्दारी नगर्ने बताए ।
पार्टी कारबाहीबारे चौधरीले इट्टाको जवाफ पत्थरले दिने टिप्पणी गरेका छन् । गलत नेतृत्वको सधैँ विरोध गरिरहने उनले बताए ।
“संविधान र कानुनभन्दा माथि रहेको राजा फाल्न ज्यानको आहुति दिन हिँडेको मान्छे हुँ, पदको भिक्षा माग्दिन र जनतासँग गद्दारी गर्दिन”, पार्टी कारबाहीबारे उनले भनेका छन्, “समय आएपछि इट्टाको जवाफ पत्थरले दिनेछु, राज्यमा आवाज नपुग्ने समुदायको आवाज सदैव बोलिरहनेछु ।”
चौधरीले कसैबाट दान लिएर जीवन नचलाउने पनि बताएका छन् । “मीनबहादुर गुरुङ जस्तासँग फ्रीमा दान लिएर जीवन चलाउँदिन, जति दिन बाँच्छु, आफ्नै पौरखमा बाँच्छु”, उनले भनेका छन् ।
मीनबहादुर गुरुङसँगको जग्गा लेनदेन काण्डबारे सार्वजनिकरुपमा विरोध गरेपछि चौधरीलाई एमालेले कारबाहीस्वरुप निलम्बित गरेको थियो । विशेषगरी उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको विरोध गरेका थिए ।