काठमाडौं । जिल्ला अदालत काठमाडौँले बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर (स्कोन) ले सरकारी जग्गा मिचेको दाबीसहित दायर गरेको फिरादमा प्रमाण र लिखित जवाफ मगाउने आदेश गरेको छ।
जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले यस्तो आदेश गरेको हो । ५ महिनाअघि दुई कानुनका विद्यार्थीहरू जस्मीन ओझा र आर्सी ढकालले जिल्ला अदालत काठमाडौँमा फिराद दर्ता गराएका थिए । सरकारी जमिनमा अवैध तरिकाले निजी प्रयोगका लागि भवन निर्माण गरेको र विष्णुमती नदीको अस्तित्व नै मेटाउने गरी अतिक्रमण गरेको दाबीका साथ घर भत्काई, चलन चलाई, सार्वजनिक जग्गा सार्वजनिक नै कायम गरिपाऊँ भनी मुद्दा दायर गरेका थिए ।
मुद्दामा केवल विष्णुमती नदीको इतिहास, अस्तित्व र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने उद्देश्य मात्र नभई शिवपुरी निकुञ्ज क्षेत्रका अन्य स्थानहरूलाई पनि अतिक्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले खाली गराउनुपर्ने माग गरिएको छ।