काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ फेरि शीर्ष नेताहरुसँगको भेटघाटमा जुटेका छन् । मंगलबार प्रधानमन्त्री निवासमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका विप्लवले बुधबार सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेटेका छन् ।
भेटवार्तामा विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागि थिए । ओली र देउवालाई भेटेका विप्लवले अन्य नेताहरुलाई पनि भेट्ने तयारी गरेको बुझिएको छ ।
नेकपाका नेता राजेन्द्र चिमोरियाका अनुसार विप्लवको भेटवार्ता विशेषगरी ३ बुँदे सहमति कार्यान्वयनको सन्दर्भमा केन्द्रित छ । ओली प्रधानमन्त्री भएको बेला २०७७ फागुन २१ मा भएको सो सहमति कार्यान्वयनका लागि भन्दै विप्लवले भेटेको उनले बताए ।
“नेताहरुबिच समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने कुरा स्वभाविक छ, तर अहिलेको भेटवार्ता नेताहरु विशेषगरी ३ बुँदे सहमति कार्यान्वयन गराउनमा केन्द्रित छ”, चिमोरियाले भनेका छन्, “ओली प्रधानमन्त्री भएको बेला भएको सो सहमति हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन, त्यही सम्झाउन भेटवार्ता गरेको हो ।”
चिमोरियाका अनुुसार ३ बुँदे सहमतिअनुसार पक्राउ परेका नेताहरु छुटेका छैनन् भने थप पक्राउ पर्ने क्रम पनि रोकिएको छैन । पछिल्लो केही महिनाकै बिचमा थप चार जना पक्राउ परेको उनले सुनाए ।
“सहमतिअनुसार रिहाई गरिएन, मुद्दा प्रक्रिया अगाडि बढाइयो, सँगै पुरानो मुद्दाका आधारमा कतिपयमाथि अहिले पक्राउ पुर्जी जारी भयो”, उनले भनेका छन् ।
तत्कालिन ओली सरकारसँग तीन बुँदे सहमति गर्दै नेकपा शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो । तीन बुँदे सहमतिमा नेकपामाथि प्रतिबन्ध हटाउनेदेखि कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ता रिहाई गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने उल्लेख छ ।
यद्यपि, सहमति भएको चार वर्षमा पनि कार्यान्वयन नभएपछि विप्लव सम्झाउन हिँडेका हुन् । विप्लवले यसअघि पनि नेताहरुलाई भेटेर सहमति कार्यान्वयनका लागि स्मरण गराएका थिए ।