काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको केन्द्रबिन्दुमा रहेको राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदकालागि उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावी मैदानमा रहेका छन् । उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र एक स्वतन्त्र उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा एमालेको गढ भत्काउँदै कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी निर्वाचित भएका थिए । नकर्मी ९०४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले ४०९० मत पाएका थिए ।
प्रमुख चार उम्मेदवार र एजेण्डाहरु :
प्रा.डा. शिवशरण महर्जन
भ्रष्ट्रचारमुक्त, सुशासन र पारर्दशितासहितको कीर्तिपुर निर्माण गर्ने अठोटका साथ नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै प्रा.डा.शिवशरण महर्जन यस पटक नगर प्रमुखमा विजयी हुने अभिलासाका साथ चुनावी मैदानमा छन् । ०७९ को चुनावमा चार हजार ९० मतसहित तेस्रो भएका महर्जन यस पटकको चुनावि नतिजा आफ्नो पक्षमा रहेको दाबि गर्छन् ।
अघिल्लो निर्वाचनमा मेयर माओवादीलाई दिने र वडा गठबन्धन दललाई दिने सहमति लागु नभएका कारण सोचे अनुसार मत नआएको उनको बुझाइ छ । तर यस पटक त्यसो नहुँनेमा उनी ढुक्क देखिन्छन् । आन्तरिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफैँलाई समर्थन गर्ने सहमती भएको महर्जन बताउछन् ।
नगरवासीको समस्याबारे राम्रो जानकार रहेको, विषयविज्ञ अनुभव, माओवादी सरकारले गरेको राम्रो काम र माओवादी घटकबिच ऐक्यबद्धता र पछिल्लो समय माओवादीप्रति बढेको लोकप्रियताका कारण नै आफ्नो जितको आधार रहेको महर्जनको भनाइ छ ।
कीर्तिपुर नगरपालिकामा भ्रष्ट्राचारको अन्त्य गर्ने मुख्य एजेण्डा महर्जनको रहेको छ । लामो समय प्राध्यापन क्षेत्रमा लागेका महर्जन आफू नेतृत्वमा आएसंगै मातहतका कर्मचारीदेखि सबै पक्षलाई सहि ढङ्गले निर्देशित गरेर विधिको शासनमा रहेर अगाडी बढ्ने उनले बताए । साथै उनले सबै दलहरुलाई समेटेर कीर्तिपुरलाई नयाँ बाटोमा लग्ने समेत बताए ।
कृष्णमान डंगोल
नेपाली कांग्रेस कीर्तिपुर नगरपालिका सभापति समेत रहेका डंगोल यसअघि पनि कांग्रेसले नै जितेका कारण यस पटक पनि सोहिमा आशावादी छन् । अघिल्लो निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्दा लोकप्रिय मतका साथ निर्वाचित भएकै कारण पनि यस पटक सोहि नतिजा दोहोरिने उनको भनाइ छ ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रो काम गरिरहेको हुँदा कांग्रेसप्रति कीर्तिपुरवासीको सहानुभूति रहेको डंगोलले बताएका छन् । उनले आफ्नो एजेण्डामा नै स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । आफू निर्वाचित भए पश्चात निर्माणाधिन अवस्थामा रहेको १५ शैयाको विष्णुदेवी अस्पताललाई निर्माण सम्पन्न गराई २४ घण्टा सेवा प्रवाह गराउने उनको लक्ष्य रहेको छ।
नगरवासीलाई ३६५ दिन नै सहज रुपमा खानेपानी व्यवस्थापनदेखि शुसासनसम्मका एजेण्डा डंगोलको रहेको छ ।
डा.सुरेन्द्र मानन्धर
नेकपा एमालेको केन्द्रीय सदस्य एवं काठमाडौं निर्वाचन क्षेत्र नं १० को अध्यक्ष समेत रहेका मानन्धर मेयर पदको आफ्नो बलियो उम्मेदवारी रहेको बताउँछन् । चुनावी अभियानमा नगरवासीमाझ पुग्दा माहोल आफ्नो पक्षमा देखिएकाले पनि जित सुनिश्चित रहेको उनको दाबि छ ।
कीर्तिपुरमा रहँदै आएका समस्याहरुको अन्त्य गर्दै युवा लक्षित कार्यक्रमलाई जोड दिने उनको मुख्य एजेण्डा रहेको छ । प्रमुख बिहिन बनेको नगरपालिकाको नेतृत्वमा गएर सम्पूर्ण जनप्रतिनिधिलाई एकबद्ध बनाएर कीर्तिपुर निर्माणमा लाग्ने उनले बताए ।
मानन्धर भन्छन्, कीर्तिपुरकै माटोमा जन्मिएर आजसम्म यहाँका नागरिकसंग सुख दुखमा सधै साथमा रहँदै आएका कारण पनि यस पटक मलाई नगरवासीले विश्वास गर्छन् । यहाँका सडकको स्तारउन्नती र विस्तार गर्दै खानेपानी लगाएतका समस्याहरु समाधानमा आफू केन्द्रित हुने उनको भनाइ छ ।
निर्वाचित भएको १५ दिनमा सडकलाई खाल्डाखुल्डी मुक्त गराउनेदेखि निर्माण सुरु गरेको ३० दिनभित्र सम्मपन्न गर्ने सम्मका एजेण्डा मानन्धरको रहेको छ ।
राजमान महर्जन (मानव)
सरसफाई अभियान्ताका रुपमा आफ्नो पहिचान बनाएका राजमान महर्जन मानव पनि यस पटक निर्वाचनमा होमिएका छन् । आफ्नो काम नै विजयीको आधार हो भन्दै चुनावी मैदानमा होमिएका महर्जन स्वतन्त्रबाट दलका उम्मेदवारलाई टक्कर दिने पात्र हुन् ।
अभियान्ता भएकै कारण उनको समर्थनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समेतको समर्थन रहेको छ । महर्जनलाई जिताउँन मेयर साम्पाङ चुनावी अभियानमा घरदैलो कार्यक्रममा समेत संगै थिए ।
कीर्तिपुरमा कुनै पनि कुराको समस्या नै नरहेको बताउने महर्जन आफू निर्वाचित भएर फोहोर जस्तै हरेक कुराको सफाई गर्ने बताउँछन् । ऐतिहासिक महत्व रहेको कीर्तिपुरलाई आफू निर्वाचित भएमा नमुना नगर बनाई विश्व जगतलाई चिनाउने उनको अठोट रहेको छ ।
हरेक समस्यालाई आफूले अवसरको रुपमा हेर्ने गरेको बताउँने महर्जन कीर्तिपुर मात्र नभई नेपाल नै व्यवस्थि गर्ने तर्फ लाग्नुपर्ने बताउँछन् । उनले आफूले बोलेका कुरा पुरा गर्ने आम कीर्तिपुरवासी सामु प्रतिवद्धता व्यक्त गरेका छन् ।
१५ करोडमा कीर्तिपुरलाई विश्वको नमुना शहर बनाएर यहाँ बाह्य पर्यटकको गन्तव्य स्थल बनाउने गरी काम गर्ने महर्जनको चाहना रहेको छ । उनी भन्छन् संसार नै मलाई जिताउन लाग्दा कीर्तिपुरवासीले मलाई हराउन सक्दैनन् ।