विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई तीन हजार जरिवाना-Sutra News

विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई तीन हजार जरिवाना

बिहिबार, १३ मंसिर २०८१

बिहिबार, १३ मंसिर २०८१

काठमाडौं। जुम्लाको पातारासी गाउँपालिकास्थित क्रणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । विद्यालयमा मोबाइल लैजाँदा विद्यार्थीहरूले ध्यानपूर्वक नपढ्ने र मोबाइलमै रुमल्लिने भएकोले मोबाइल प्रतिबन्ध गरेको हो ।



विद्यालय व्यवस्थापन समितिले विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय शिक्षक, अभिभावक र विद्यार्थीसँग छलफल गराएर अनुमोदन गरेपछि कार्यान्वयनमा आएको हो ।

अब विद्यालयमा विद्यार्थीहरूले मोबाइल लैजान पाउने छैनन्, ‘प्रधानाध्यापक कृष्ण बुढाले भने, ‘मोबाइल भेटिएमा तीन हजार रुपैयाँ जरिवाना हुनेछ । जरिवाना स्वरूपको रकम एक साताभित्र सम्बन्धित विद्यार्थीको अभिभावक आएर विद्यालयमा जम्मा गर्नुपर्नेछ । यदि अभिभावक नै नआएको बखत सो मोबाइल लिलाममा विद्यालयले नै बेच्नेछ ।’

मोबाइल बेचेर आएको रकमले मोबाइल ल्याउने विद्यार्थीको शैक्षिक सुधारमा लगाइने प्रधानाध्यापक बुढाले बताए । क्रृणमोक्ष माध्यमिक विद्यालयमा गतसाता देखि यो निर्णय कार्यान्वयनमा आएको हो । विद्यालयमा मोबाइल प्रतिबन्ध गराउने निर्णयले अभिभावक खुसी छन् । अहिले विद्यालयमा लाइनदेखि कक्षाकोठा प्रवेश गर्दा मोबाइल ल्याएको छ या छैनन् विषयमा सर्च नै हुने गरेको छ ।

विद्यालयमा पहिले एक सयभन्दा बढी विद्यार्थीहरू मोबाइल बोकेर आइरहेका हुन्थे । विद्यालयको वाइफाइको पासवर्ड लिएर गेम खेल्ने, कक्षामा पढाइ छाडेर खेलमैदानमा आएर मोबाइलमा झुम्मिने गर्दा पठनपाठन प्रभावित हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट