वर्ल्डलिंक कम्युनिकेसन्समा फिनिस सरकारी कम्पनीकाे एक अर्ब ४२ करोड लगानी-Sutra News

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनिस सरकारी कम्पनीकाे एक अर्ब ४२ करोड लगानी

बिहिबार, १३ मंसिर २०८१

बिहिबार, १३ मंसिर २०८१

काठमाडाैं । नेपालकाे इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा फिनल्यान्डको सरकारी फन्डिङ कम्पनी फिनफन्डले एक अर्ब ४२ करोड लगानी गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।



फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिंकले जनाएको छ। नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् । यसको लागि विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने विश्वास लिइएको छ।

‘वर्ल्डलिंक नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,’ किल्पेलेइनले भने, ‘फिनिश लगानीकर्ता भएकोले, हामी पक्कै पनि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवाहरू विस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौँ।’

फिनिस प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरूका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ।

‘डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको विस्तारले वर्ल्डलिंकका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्नेछ। फिनफन्ड डाटा केन्द्र निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वर्ल्डलिंकलाई सहयोग गर्न तत्पर छ,’ किल्पेलेइनले जोड दिए।

फिनफन्डसँगकाे सहकार्य वर्ल्डलिंकका लागि महत्त्वपूर्ण कोसेढुंगा साबित हुने वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । ‘फिनफन्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्‌ने हाम्रो लक्ष्यमा एउटा महत्त्वपूर्ण कोसेढुंगा साबित हुनेछ,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले सहर र ग्रामीण भेगबिचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौँ।’

वर्ल्डलिंक ठुलो विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवाप्रदायकमध्येको पहिलो र एक मात्र कम्पनी हो। कम्पनीले यसअघि नै ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट बिआइआई र डोल्मा इम्प्याक्ट फन्ड डिआइएफआइआईमार्फत विदेशी लगानी भित्र्याएको छ।

देशकै सबैभन्दा ठुलो नेटवर्क प्रदायकसमेत रहेको वर्ल्डलिंकले पाँच हजारभन्दा बढी मानिसलाई रोजगारी दिएकाे छ । कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार साझेदारी छ, नाै लाखभन्दा बढी घरपरिवारमा पहुँच प्रदान गर्दछ।

कम्पनीले हाल नेपालको ७७ जिल्लामध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट