काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो ।
लामिछानेलाई काठमाडौं ल्याइँदै गर्दा त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो । यद्यपि, कडा सुरक्षाका बिच समर्थकहरुले विमानस्थलबाहिर नाराबाजी गरेका गरे ।
समर्थकले ‘राजनीतिक प्रतिशोध बन्द गर’ नारा लगाएका थिए ।
लामिछानेलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जाहेरी परेको छ । जुन घटनामा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरेको थियो ।
लामिछानेलाई अनुसन्धानका लागि ल्याइएको यो तेस्रो जिल्ला हो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो । काठमाडौंपछि लामिछानेलाई चितवन लैजाने तयारी छ ।