काठमाडौं। आज देशभरका विभिन्न ठाउँमा रित्त रहेको ४१ पदका लागि स्थनीय तहको उपनिर्वाचन भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण ढंगबाट अगाडि बढिरहेको बताइएको छ ।
विभिन्न ठाउँमा ४१ पदका लागि ३७६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट ३७६ जनाले उम्मेदवारी दिएका छन् ।
आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् ।
यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
विभिन्न ठाउँमा भइरहेको मतदान शान्तिपूर्ण ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको र शान्तिपूर्ण ढंगबाट भइरहेको बताए ।
अहिले उपनिर्वाचनलाई लक्षित गर्दै नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेका छन् । उनीहरु आफ्ना समर्थकलाई मतदान गर्न मतदातालाई आग्रह गरिरहेका छन् । निर्वाचन आयोगले दुई दिनभित्र निर्वाचनको मतपरिणाम आइसक्ने जानकारी दिएको छ ।