काठमाडौं । विष्णु पौडेललाई निजी क्षेत्रले रोजाइमा पार्ने अर्थमन्त्रीको रूपमा लिइन्छ । उनको आगमनको चर्चाले नै सेयर बजार तरङ्गित हुनुलाई पनि एउटा सकारात्मक उदाहरणको रूपमा लिन सकिन्छ । तर, त्यही निजी क्षेत्रले सबैभन्दा बढी रोजाइमा पार्ने अर्थमन्त्री पौडेल अहिले असफल हुने संघारमा पुगेका छन् ।
अर्थमन्त्री पौडेल निकटका एक एमाले नेताका अनुसार पौडेल तीन महिने प्रगति विवरणबाट निराश छन् भने बाँकी सम्भावनालाई लिएर पनि चिन्तित छन् । पौडेल आफ्नै काम गराइलाई लिएर असन्तुष्ट रहेको ती नेताले बताए ।
रिपोर्ट कार्डका आधार ७ मन्त्री रेड नोटिसमा पर्दा, पौडेलको रिपोर्ट कार्ड पद टिकाउने खालको छ यद्यपि, चर्चा र अपेक्षाका बिच उनको प्रगति विवरण निकै फिक्का बनेको छ ।
निकटस्थ ती नेताले बताएअनुसार अहिले पौडेल आफ्नो निर्णयले काम गर्ने अवस्थामा छैनन् । एकातिर उनका निर्णयहरू सचिवहरूले लागु गर्न इन्कार गर्छन् भने अर्कोतिर केन्द्रीय बैंकसहित विभिन्न नियमनकारी निकायका प्रमुखहरू उनको सुझावलाई कार्यान्वयन गर्न मान्दैनन् । गभर्नर महाप्रसाद अधिकारीले त उनको सुझावलाई ठाडै इन्कार गरिरहेको स्रोत बताउँछन् ।
अर्थसल्लाहकारले चलाउँछन् अर्थमन्त्रालय
अहिले अर्थमन्त्रालयको नेतृत्व देखिँदा पौडेलले गर्दछन्, तर भित्रिरुपमा अर्थमन्त्रालय प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको निर्देशनमा चल्छ । जसको सामान्य उदाहरणका रूपमा मौद्रिक नीति जारी हुँदाको घटना र मौद्रिक नीतिको समीक्षालाई लिन सकिन्छ ।
जारी हुन ठिक्क परेको मौद्रिक नीति खतिवडाले आफू आउनु पूर्व नै रोकिदिएका थिए । उनले आफू अनुकूलित निर्णय गराएर मौद्रिक नीति जारी गराए ।
जसबारे अर्थमन्त्रीले सार्वजनिकरुपमै असन्तुष्टि पोखेका थिए । उनले ‘मौद्रिक नीतिमाथि हस्तक्षेप हुनु सुहाउँदो नभएको’ प्रतिक्रिया सार्वजनिक ढङ्गले दिएका थिए ।
मौद्रिक नीति जारी गर्दा देखिएको हस्तक्षेप समीक्षामा पनि खुलारुपले प्रकट भयो । मौद्रिक नीतिको समीक्षामा कुनै पनि नीतिगत परिवर्तन भएन । जसमा खतिवडाकै हात छ । जसबारे बैंकर्स तथा व्यवसायीसँगको भेटमा अर्थमन्त्रीले निरीहता व्यक्त गरेका थिए ।
एमाले निकटका बैंकर्स तथा व्यवसायीलाई बोलाएर ‘सुझाव कार्यान्वयन हुने अवस्था रहेन’ भन्दै दुखेसो पोखेका थिए ।
औपचारिक भ्रमणमा समेत समेटिएनन्
प्रधानमन्त्री ओलीले पहिलो औपचारिक भ्रमण चीनबाट गर्दै छन् । उनी सोमबारदेखि तीन दिने चीन भ्रमणमा जाँदैछन् । जहाँ भ्रमण टोली संख्यात्मकरुपमा ऐतिहासिक खालको छ ।
८७ सदस्यसहितको जम्बो टोली चीन भ्रमणमा निस्कँदै गर्दा उनको टिममा अर्थमन्त्री पौडेल भने परेनन् । अर्थ सल्लाहकार खतिवडा र अर्थ सचिव डा. रामप्रसाद घिमिरे भ्रमण टोलीमा समेटिँदा पौडेलको नाम परेन ।
ओलीको भ्रमण टोलीलाई हेर्दा नै पौडेल पूर्ण उपेक्षामा परेको पाइन्छ । जसले पौडेलको अवस्थालाई पनि छर्लङ्ग पार्दछ ।
पार्टीभित्रको गुटगत विवादको प्रभाव
पार्टी महाधिवेशनका बेला सतहमा देखिएको एमालेभित्रको गुटगत विवाद प्रदेश र जिल्ला अधिवेशनहरू छरप्रष्ट बन्यो । जसमा विशेषगरी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बाँडिए ।
जसको सिलसिला हालसम्म पनि जारी छ । पौडेल र पोखरेलबिचको टकराबमा अध्यक्ष ओली, पोखरेलको पक्षमा उभिँदा पौडेल निकै कमजोर बनेका छन् ।
अहिले तल्लो कमिटीसम्मको राजनीति अवस्थालाई केलाउँदा पौडेल कमजोर बन्दै गइरहेका छन् भने पोखरेल हाबी बनिरहेका छन् ।
जसका बिच पोखरेलले पौडेल पक्षलाई निषेधको व्यवहार गरेको छ । केन्द्रमा देखिएका यी अभ्यासमा पोखरेल पक्षको निषेधकारी व्यवहार हाबी भएको ती नेताले बताए ।