काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ । विभिन्न ४१ पदका लागि भएको निर्वाचनमा ३७ स्थानको अन्तिम नतिजा आइसकेको छ भने ४ स्थानको नतिजा आउन बाँकी छ । बाँकी स्थानमा मतगणना चलिरहेको छ ।
काठमाडौं कीर्तिपूर नगरपालिकाको मेयर, उदयपुरको बेलका ९ को वडाध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष र हुम्लाको सार्केगाड गाउँपालिकाको उपाध्यक्षको पदमा मतगणना जारी छ ।
नतिजा आएका पदमध्ये नेपाली कांग्रेसले १७ वडाध्यक्षको पद जितेको छ । कांग्रेसले यसअघि जितेका दुई अध्यक्ष र दुई उपाध्यक्षको पद गुमाएको छ ।
एमालेले एक अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष जितेको छ ।
यसैगरी, माओवादी केन्द्रले एक अध्यक्ष, एक उपमेयर र ६ वडाध्यक्ष जितेको छ ।
जनता समाजवादी पार्टीले १, राष्ट्रिय स्वतन्त्र पार्टीले १, एकीकृत समाजवादीले १ र नेमकिपाले १ वडाध्यक्ष जितेको छ । यसैगरी कन्काई नगरपालिकामा १ जना स्वतन्त्रले वडाध्यक्ष जितेका छन् ।
माओवादीले जितेको मोरङको ग्रामनाथ गाउँपालिका अध्यक्षको पद र जाजरकोटको नलगाडको उपमेयर पद यसअघि कांग्रेसले जितेको थियो । दुवै पद कांग्रेसबाट माओवादीले खोसेको हो ।
यसैगरी, माओवादी केन्द्रले कांग्रेसबाट त्रियुगा १२ उदयपुर, धनुषाधाम १,धनुष र ककनी २ नुवाकोटको वडाअध्यक्ष पद पनि खोसेको छ ।
माओवादी केन्द्रले गोरखा ५ गोरखा र त्रिपुरासुन्दरी ५ डोल्पाकाे वडाध्यक्ष पद एमालेबाट खाेसेकाे छ ।
यता, एमालेले पनि विगतमा चुनाव नतिजेको महाबुको अध्यक्षमा यसपटक जित हासिल गर्यो । बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले जित हात पारेको छ । जहाँ पनि यसअघि कांग्रेसले जित हात पारेको थियो ।
एमालेले जितेकाे सिरीजङ्घा ३ ताप्लेजुङ, मोलुङ ५ ओखलढुंगा र शुद्धोदन १ कपिलवस्तुकाे वडाध्यक्ष पद यसअघि कांग्रेसले जितेकाे थियाे भने रामगोपालपुर २ महोत्तरीकाे वडाध्यक्ष पद माओवादी जितेको थियाे ।
यसैगरी, कांग्रेसले जितेकाे गढी ६ सुनसरी, ईशनाथ नपा ७ राैतहट र सुर्मा ४ बझाङकाे वडाध्यक्ष पद यसअघि एमालेले जितेकाे थियाे भने हेटौंडा–१२, रोल्पाको रुन्टीगढी–४, जाजरकोटको कुसे गाउँपालिका–७ र दुहुँ– ५ दार्चुलाको वडाध्यक्ष पद माओवादी केन्द्रले जितेकाे थियाे ।
नतिजालाई केलाउँदा कांग्रेसले धेरै गुमाएको छ भने एमालेले साख जोगाउने प्रर्यत्न गरेको छ । माओवादीले भने केही लाभ उठाएको छ । उपनिर्वाचनले कांग्रेस र एमालेलाई सच्चिन सुझाएको छ भने माओवादीलाई उठ्नलाई साहारा नखोज भन्ने सन्देश दिएको छ । सँगै, आधार इलाकालाई उपेक्षा नगर भन्ने पनि सन्देश दिएको छ ।