काठमाडौँ । चलचित्र रावायण भन्न साथ अभिनेता पल शाहको दारीदेखि प्रियंका कार्कीको ‘डाइलग डेलिभरी’ जस्ता विषय दर्शकको मष्तिकमा आउने गर्छ ।
फलस्वरूप ठूलै लगानीमा बनेको चलचित्र रामायणले राम्रो व्यापार गर्न सकेन । व्यापार नभएपछि निर्माण पक्षले प्राविधिकहरूलाई दिन बाँकी १५ लाख ५५ हजार पारिश्रमिकसमेत दिन सकेको छैन । जसले गर्दा यतिबेला निर्माण पक्षबीच असन्तुष्टि पैदा भएको छ ।
अहिले नायिका तथा निर्मात्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाबीचको चर्काचर्की सतहमा देखिएको छ । प्राविधिकहरूले पारिश्रमिक नपाएपछि उजुरी परेको थियो । सोही उजुरका आधारमा चलचित्र प्राविधिक संघले उनीहरूलाई छलफलका लागि बोलाएको थियो ।
छलफलमा पूजा र सुदर्शनबीच चर्काचर्की परेको बुझिएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पूजा र सुदर्शनबीच चर्काचर्की परेको पुष्टि गरेका हुन् । उनका अनुसार ‘एक पक्ष प्राविधिकहरूलाई बाँकी रकम दिन सहमत भए पनि अर्को पक्षले नमानेपछि दुई पक्षबीच चर्काचर्की सुरु भएको हो ।
लामाका अनुसार पूजा प्राविधिकहरूलाई बाँकी पारिश्रमिक दिन तयार देखिएकी थिइन् । उनकै व्यवसायिक साझेदारी सुदर्शनले आनाकानी गरेका थिए ।
लामाले भने, ‘उहाँहरूबीचको आन्तरिक समस्या उहाँहरुले नै हल गर्ने कुरा हो, तर हामी प्राविधिकहरूलाई मर्कामा पार्न दिन्नौँ ।’
चलचित्र रिलिजपछि आएको शेयर रकम वितरकले निर्मातालाई दिन बाँकी छ । साथै, डिजिटल राइट्सवापत बिक्री गरेको रकममध्ये १५ लाख रुपैयाँ ओएसआर डिजिटलबाट निर्माण पक्षले लिन बाँकी छ ।
पूजा यही रकम आएपछि प्राविधिकहरूलाई बाँकी पारिश्रमिक दिन तयार देखिएकी थिइन् । तर, निर्देशक तथा निर्माता थापाले आफूहरूको आन्तरिक हिसाब रहेको भन्दै पैसा दिने कुरामा आनाकानी गरेका थिए ।
प्राविधिक संघमा छलफलका क्रममा चर्काचर्की भएपछि सुदर्शन त्यहाँबाट निस्किएका थिए । यसैले, प्राविधिकहरूको बाँकी पैसा दिने विषय टुंगिएको छैन ।