जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स आठ विकेटले पराजित-Sutra News

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स आठ विकेटले पराजित

सोमबार, १७ मंसिर २०८१

सोमबार, १७ मंसिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्समाथि शानदार जित निकालेको छ । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।



जनकपुरका कप्तान अनिल शाहले ६२ रनको अर्धशतकीय इनिङ खेले । अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे । आसिफ ३६ रनमा आउट भए । लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एक-एक विकेट लिए ।

त्यसअघि जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।

कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे । अर्जुनले २२ बलमा ३३ रन बनाउँदा गुल्सन झाले ३६ रन बनाए ।

भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । यसअघि शनिबार भएको पहिलो खेलना जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट