काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि राहदानी कीर्तेसम्बन्धी मुद्दा पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा लामिछानेको राहदानी कीर्तेको पेसी तोकिएको हो । युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।
विं.सं. २०७९ चैत २० गते दायर भएको रिटमा दोस्रो सुनुवाइका लागि पेसी तोकिएको हो । उक्त मुद्दा ३० नम्बरमा पेसी रहेकाले सुनुवाइको पालो पाउने सम्भावना कम छ ।
अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रविविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुका कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरिदिएका थिए ।
यसै क्रममा सहकारी ठगीको आरोपमा लामिछानेलाई पक्राउ गरी विभिन्न जिल्लामा बयानका लागि लगिएको छ । उनलाई आज मात्रै चितवन लगिएको छ ।