उपनिर्वाचनको नतिजाप्रति कांग्रेस सन्तुष्ट हो ?-Sutra News

उपनिर्वाचनको नतिजाप्रति कांग्रेस सन्तुष्ट हो ?

मंगलबार, १८ मंसिर २०८१

मंगलबार, १८ मंसिर २०८१

काठमाडौं । ४१ पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनको अन्तिम परिणाममा सत्तारुढ नेपाली कांग्रेस केही खस्किएको अवस्थामा देखियो । कांग्रेसले २०७९ मा भएको चुनावमा जितेको २७ क्षेत्रमध्ये १२ स्थानको जित मात्रै जोगाउन सक्यो ।



कांग्रेसले कीर्तिपुरको मेयरसहित १६ वडाध्यक्षको पद जितेको छ । जसमध्ये ९ वडामा यसअघि पनि जितेको थियो भने यसअघि हारेको ७ वडामा जित हात पारेको छ ।

सँगै कीर्तिपुरको मेयर पद पनि निकै सकसमा जितेको छ । यसअघि झण्डै आधा बढी मतान्तरसहित ९ हजार ४३ मत ल्याउँदै राजकुमार नकर्मीले जित हात पार्दा यसपटक भने ५ हजार ३३४ मत ल्याएर सकससहित कृष्णमान डंगोल विजयी भए । डंगोलले पाएको मत माओवादी केन्द्र उम्मेदवारले पाएको मतभन्दा ७७९ मतले बढी हो ।

विशेषगरी कांग्रेसबाट ग्रामनाथ गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले खोस्यो भने महाबु गाउँपालिकाको अध्यक्ष एमालेले खोस्यो । यसैगरी, नलगाड नगरपालिकाको उप्रमुख माओवादी केन्द्रले खोस्यो भने स्वामी कार्तिक गाउँपालिकाको उपाध्यक्ष एमालेले खोस्यो ।

कांग्रेसबाट तीन वडाध्यक्ष माओवादी केन्द्रले खोस्यो भने तीन वडाध्यक्ष एमालेले खोस्यो । सँगै जसपाले दुई वडाध्यक्ष खोस्दा एक वडाध्यक्ष रास्वपाले खोस्यो ।
समग्रमा नतिजालाई केलाउँदा समग्रमा कांग्रेस निकै खस्किएको अवस्थामा देखियो ।

यद्यपि, उपनिर्वाचन परिचालन समितिको संयोजकसमेत रहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचनको परिणाम निराशाजनक नरहेको दाबी गर्दछन् । ‘एक्लै लडेर प्राप्त स्थान’ भएको भन्दै उनले परिणामलाई सन्तोषजनक एवम् उत्साहवद्र्धक भएको बताए ।

कांग्रेस महामन्त्री शर्माले भनेका छन्, ‘उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र एक्यवद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ । मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ ।’

कांग्रेस समग्रमा रिक्त ४४ मध्ये १९ स्थानमा विजयी भएको छ । शर्माले यसलाई राजनीतिक, सांगठनिक र गुणात्मक रूपले महत्त्वपूर्ण रहेको बताएका छन् । ‘समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ । यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका सबै आदरणीय साथीहरूमा बधाई र सम्मान छ’, शर्माले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट