काठमाडौँ । सहकारी रकम अपचलनको मुद्दामा बयान लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनको जिल्ला सरकारी वकीलको कार्यालय लगिएको छ ।
चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगिएको हो । उक्त सहकारीबाट ४२ करोड रकम पाँच वटा कम्पनीमा गएको प्रहरीले जनाएको छ । हिनामिना भएको रकममध्ये १० करोड ८० लाख गोर्खा मिडिया नेट्वर्कमा गएको देखिएको प्रहरीले जनाएको छ ।
लामिछानेलाई चितवन लैजाँदा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेका थिए ।
यस क्रममा प्रहरी र रविका समर्थकबीच धकेलाधकेल भएको थियो । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।