२५ स्थानमा रास्वपाको जमानत जफत, पाँच हजार मत ल्याउन सकस-Sutra News

२५ स्थानमा रास्वपाको जमानत जफत, पाँच हजार मत ल्याउन सकस

मंगलबार, १८ मंसिर २०८१

मंगलबार, १८ मंसिर २०८१

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको ४१ पदमा रिक्त जनप्रतिनिधिका लागि उपनिर्वाचन सम्पन्न गरेको छ । जसमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लज्जास्पद हार बेहोरेको छ ।



रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा हुँदा उपनिर्वाचनमा पार्टीलाई ठूलो क्षति पुगेको हो । विं.सं.२०७९ सालमा प्रतिनिधिसभाको निर्वाचन हुनअघि पार्टी स्थापना गरी चुनावमा होमिएको रास्वपा संसदको चौथो ठूलो शक्ति बन्न सफल भएको थियो ।

रवि लामिछानेको बलमा चौथो ठूलो शक्ति बनेको रास्वपाले दुई वर्षपछि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा लज्जास्पद हार खेपेको हो । गत कार्तिक २ गते सहकारीको बचत हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रविमाथि अनुसन्धान जारी छ ।

पार्टी सभापति लामिछाने पक्राउ परेसँगै रास्वपा आन्दोलनमा केन्द्रीत भएको थियो । रास्वपाले राजनैतिक प्रतिशोध साँध्न आफ्नो सभापतिलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरिरहेको छ । यसैबीच, सम्पन्न उपनिर्वाचनमा पार्टीले ठूलो क्षति बेहोरेको हो ।

स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपाले कूल २६ स्थानमा उम्मेदवारी दिएको थियो । केही स्थानमा पार्टीभित्र देखिएको विवादका कारण उम्मेदवारी फिर्ता गरेको थियो ।

यसबीच पार्टीले एक स्थानमा जित हात पार्न सफल भएको हो । पार्टीको केन्द्रीय कार्यालयसमेत रहेको काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी हुन । उनले दुई हजार ९०२ मत पाएकी थिइन् ।

रोजिनाबाहेक २५ जना उम्मेदवारले आफ्नो जनमत जोगाउन सकेनन् । यस क्रममा रास्वपाका उम्मेदवार नविन कुमार विश्‍वास खवास ग्रामथान गाउँपालिकाको उपाध्यक्ष हुँदा जम्मा ३७५ मत पाएका थिए । यस पालिकाको अध्यक्षमा विजयी माओवादीका उम्मेदवार नमो नारायण माझीले ६ हजार ९६९ मत पाएका थिए ।

रास्वपाले उम्मेदवारी दिएको अधिकांश स्थानमा जम्मा दुई सय मत कटाउन सकेन । ६ वटा तहमा १० मत कटेको देखिँदैन । यो निर्वाचनमा रास्वपाले जम्मा चार हजार ९८१ मत मात्रै प्राप्त गर्यो ।

आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडामा जित हात पारेको छ ।

नेकपा माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।

उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल दुई, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा स्थान बनाउन सफल भएको छ ।

कूल ४४ पदका लागि उपनिर्वाचनको कार्य तालिका थियो । तर, आइतबार ४१ पदका लागि मात्रै मतदान भएको हो । ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा २ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए ।

आयोगका अनुसार कूल ४१ पदका लागि राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी कूल ३७६ जना उम्मेदवार मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट