काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । १७.८० अंकले बढ्दै नेप्से २७७५.८५ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से ०.६४ प्रतिशतले बढ्यो ।
परिसूचक बढेपनि मंगलबार कारोबार रकम भने घट्यो । एक करोड ८१ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँमा सीमित बन्यो ।
१३ मध्ये ७ समूहको सूचक बढ्यो ६ समूहको सूचकमा गिरावट आयो । व्यापार समूहको सूचक सबैभन्दा बढी ५.९६ प्रतिशतले बढ्दा होटल तथा पर्यटनको सूचक सबैभन्दा बढी १.७१ प्रतिशतले घट्यो ।
आज कारोबारमा आएका २४४ कम्पनीमध्ये १४२ को मूल्य बढ्यो भने ९७ को मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर बन्यो ।
दोहोरो अंकले नेप्से बढ्दै गर्दा आज ५ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो ।
धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउँदै गर्दा विशेषगरी लगानीकर्ताले अनुकुलित मौद्रिक नीति खोजेको थिए । यद्यपि, मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताका माग सम्बोधन भएनन् । सँगै, धितोपत्रको नयाँ नेतृत्वले कुनै ठोस निर्णय गर्न सकेको छ । जसको कारण लगानीकर्ता पर्ख र हेरको स्थितिमा देखिएका छन् ।
नेप्सेमा देखिएको उतारचढाव लगानीकर्ता मनोवैज्ञानिक ढंगले अन्योलमा रहँदाको परिणाम भएको जानकारहरु बताउँछन् । यदि, धितोपत्रको नेतृत्वबाट कुनै ठोस निर्णय भएमा नेप्सेमा नयाँ माहोल सिर्जना हुने लगानीकर्ताहरुको बुझाई छ ।