काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित निकालेको छ । ब्याटिङमा रवि बोपाराको अर्धशतक र बलिङमा सोहेल तनविरसँगै रिजन ढकाल प्रदर्शनमा चितवनले दोस्रो जित निकालेको हो ।
मंगलबारको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले हराएको हो । तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएका थिए ।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो । पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाए । अन्य खेलाडीले रन बटुल्न सकेनन् ।
पोखरालाई अलआउट गर्न तनवीरले तीन ओभरमा एक मेडन राख्दै ६ रन मात्र खर्चेर तीन विकेट लिए । रिजनले पनि तीन ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए ।
लुकले चार ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले एक विकेट लिए ।