केन्द्रमा चुरीफुरी, आधार इलाका बिजोग !-Sutra News

केन्द्रमा चुरीफुरी, आधार इलाका बिजोग !

आधार इलाका गुमाएका माओवादीका तीन उपमहासचिव

मंगलबार, १८ मंसिर २०८१

मंगलबार, १८ मंसिर २०८१

काठमाडौं । मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका मानिएको रुकुम र रोल्पाका वडा तहमा माओवादी केन्द्र पराजित भएको छ । माओवादीको अर्को आधार इलाका मानिने जाजरकोटमा पनि २०७९ मा निर्वाचित भएको वडा समेत गुमाउन पुगेको छ ।



आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी बन्दा माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।

यसैगरी, रोल्पाको रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ४ को अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार भुपमणि पुन विजयी भए । पुन ६३४ मत ल्याएर विजयी भएका हुन् । त्यहाँ नेकपा एमालेले ३५ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले जम्मा ७० मत मात्र ल्याएको छ ।

जनार्दन शर्मा

रुकुम पश्चिमी मुसिकोट नगरपालिका ५ का शर्मा वि.सं. २०६३ मा अन्तरिम व्यवस्थापिका संसदको विधायक/सचेतक हुँदै सत्ता यात्रा सुरु गरेका शर्मा २०६४ मा रुकुम क्षेत्र नं. २ बाट संविधान सभा सदस्यमा निर्वाचित भए ।

त्यस पश्चात् २०६४ मा सेना समायोजन विशेष समिति सदस्य, २०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म शान्ति तथा पुनर्निर्माण मन्त्री, २०७० मा रुकुम क्षेत्र नं. २ बाट दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भए ।

२०७१ देखि २०७३ साउन २८ सम्म सार्वजनिक लेखा समिति सभापति, २०७३ साउन ३० देखि २०७४ जेठ २४ सम्म ऊर्जा मन्त्री, २०७४ वैशाख २४ देखि २०७४ असोज ६ सम्म गृह मन्त्री र २०७८ असार २९ गते अर्थ मन्त्री बने ।

शर्मा प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुकुम पश्चिम क्षेत्र नं १ बाट ३९ हजार ५ सय ४९ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भए । शर्मा हाल माओवादी केन्द्रको उपमहासचिव छन् ।

शर्माको गृह नगर मुसिकोट नगरपालिका नै कांग्रेसको कब्जामा रहेको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) निर्वाचित छ । त्यति मात्र होइन उनकै वडा नं. ५ मा कांग्रेसको एकलौटी राज छ ।

त्यति मात्र नभई मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भएको छ । आफ्नै निर्वाचन क्षेत्रमा माओवादीले पराजय बेहोर्दा पनि मौन छन् शर्मा ।

वर्षमान पुन

रोल्पामा माओवादी क्रान्तिसँगै राजनीतिमा उदाएका वर्षमान पुन २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भए । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सम्हाले । तर, एमाले र माओवादीबिच सत्ता साझेदारीमा सन्तुलन नमिल्दा दुई महिनामै मन्त्रालय छोडे ।

२०६८ साल भदौ ५ गते बाबुराम भट्टराई प्रधानमन्त्री भए । त्यति बेला उनले देशकै महत्त्वपूर्ण अर्थ मन्त्रालय हाँक्ने मौका पाए । उनी १८ महिना पदमा रहे ।

२०७० सालको संविधानसभा निर्वाचनमा पुन मोरङ क्षेत्र नम्बर ९ बाट उठे । तर, काँग्रेस उम्मेदवारसँग पराजित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गृह–जिल्ला फर्केका पुनले रोल्पाबाट ४२ हजार ८४ मत ल्याएर जित हासिल गरे । त्यस पश्चात् २०७९ को आम निर्वाचनमा पनि सोही स्थानबाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यससँगै २०८१ मा उनी फेरी अर्थ मन्त्री बने ।

पुन हाल माओवादी केन्द्रको उपमहासचिव रहेका छन् । केन्द्रमा रहेर माओवादीको आधार इलाका रोल्पा भनेर दम्भ देखाउने पुनको क्षेत्रमा रहेको रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ४ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ६३४ मत ल्याएर कांग्रेस विजयी हुँदा माओवादी जम्मा ७० मतमा सीमित हुन पुग्यो । त्यसबाट पनि पुनको आधार इलाका कस्तो भन्ने प्रष्ट हुन्छ ।

शक्ति बहादुर बस्नेत

जाजरकोटको भेरी नगरपालिका वडा नं १ को कालेगाउँका शक्ति बहादुर बस्नेत तीन पटक मन्त्री बनिसकेका छन् ।

बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, २०७२ मा गृह मन्त्री र २०७९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् ।

स्थानीय तहको उपनिर्वाचनमा जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा माओवादी विजयी हुँदा ०७९ मा माओवादीले जितेको कुसे गाउँपालिका ७ मा भने पराजित भएको छ ।

बस्नेत हाल माओवादी केन्द्रको उपमहासचिव छन् । तर बस्नेतकै गृह नगरमा २०७९ को स्थानीय तहको निर्वाचनमा प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसबाट निर्वाचित छन् ।

त्यहीबाट निर्वाचित हुँदै केन्द्रमा हालीमुहाली गरिरहेका बस्नेत आफ्नै आधार इलाकामा पार्टीको साख जोगाउन चुकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट