काठमाडौं । मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मतको खडेरी परेको छ । निर्वाचनमा उत्साहजन सहभागीता रहेको राप्रपाको मतपरिणाम भने निरुत्साहित बन्न पुग्यो ।
आइतबार भएको उपनिर्वाचनमा रिक्त ३५ वडामध्ये नेपाली कांग्रेसले १६ वटामा जित निकाल्दा माओवादीले सात, एमालेले ५ र जसपा नेपालले २ वडामा जित निकाल्दा नेपाल मजदुर किसान पार्टी, नेकपा एस, रास्वपाले एक स्थान तथा एउटा वडाध्यक्ष स्वतन्त्रले जितेका छन् । भने पालिकातर्फ कांग्रेसले एक नगरपालिका प्रमुख जित्दा माओवादीले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र एक उपमेयर जितेको छ । एमालेले पनि एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ ।
४१ स्थानकै अन्तिम मत परिणाम सार्वजनिक हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने लज्जास्पद हार भोगेको छ । उपनिर्वाचन सम्पन्न भइरहँदा राप्रपाले जित निकाल्न सकेन भने आशा गरिएअनुसारको मत समेत प्राप्त गर्न सकेन । राजसंस्था पुनर्वहाली र हिन्दु राज्य कायम गराउने एजेण्डासहित राजनीतिमा सक्रिय रहेको राप्रपालाई उपनिर्वाचनले भने झापड दिएको छ । अझ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै गृह जिल्ला झापामा भएको उपनिर्वाचनमा पार्टीको जमानत समेत जफत भएको छ । लिङ्देनको गृहजिल्ला झापाको कन्काई नगरपालिका ६ मा राप्रपाका उम्मेदवारले २६ भोट ल्याउँदै जमानत जफत गरेका हुन् ।
उपनिर्वाचन भएका अधिकांश ठाउँमा उम्मेदवारी दिएको राप्रपाका ८ जना उम्मेदवारले त कम्तीमा १० मतसमेत ल्याउन सकेनन् । राप्रपाबाट तेह्थुमको लालिगुराँस नगरपालिका ८ को वडाध्यक्षमा राप्रपाबाट उम्मेदवार बनेका रत्न बहादुर श्रीपालीले ४ मत ल्याएका छन् ।
चन्द्रमणि दाहाल राप्रपाको तर्फबाट ओखलढुंगाको मोलुङ गाउँपालिकाको ५ मा उम्मेदवार थिए । गत निर्वाचनमा नेपाली कांग्रेसले जित्दा यसपटक नेकपा एमालेले जित निकाल्यो भने राप्रपाका दाहालले ३ मत ल्याए । रौतहटको गढीमाई ८ मा रामवालक साहले ४ मत ल्याउँदा महोत्तरीको रागोपालपुर नगरपालिका २ मा मोहम्द मनान खाँले २ मत पाए ।
कुशे गाउँपालिका ७ मा लाल बहादुर खत्रीले ८ तथा गुल्मीको मसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाकी इश्वरी खातीले ५ मत र सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का उम्मेदवार राम कुमार यादवले ६ मत प्राप्त गरे । रोल्पाको रुन्टीगडी ४ मा पहल बहादुर वली १० मा रोकिए ।