काठमाडौँ । चार दिनदेखि सम्पर्कविहीन भएकी बारपाक सुलिकोट गाउँपालिका १ बारपाककी एक युवतीको शव फेला परेको छ ।
घाँस काट्न भनेर जंगल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
सुचिना घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्थानीय मैखर्कको जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको प्रनाउ सुवेदीले बताए ।
युवतीको हत्या भएको अनुमान गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अनुसन्धानका लागि घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।