एमालेका लागि चुनावी परिणाम अनुकूलित, कुप्रचारले सहरी क्षेत्रमा असर ! -Sutra News

एमालेका लागि चुनावी परिणाम अनुकूलित, कुप्रचारले सहरी क्षेत्रमा असर ! 

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१
फाइल तस्बिर

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको परिणामलाई लिएर विभिन्न तर्क/वितर्क भइरहेको छ । राजनीतिक दलहरूले आ–आफ्नो शैलीमा परिणामलाई केलाएका छन् ।



विशेषगरी प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले परिणामलाई ‘उत्साहजनक’ भनिरहँदा सत्तारुढ मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बाट केही निराशा देखियो । यद्यपि, दलहरूले औपचारिक भाषा शैलीमा भने परिणाम सन्तोषजनक रहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसले एक्लै लड्दा आएको परिणाम सन्तोषजनक भएको बताएको छ भने एमालेले विगतकै निरन्तरताको रूपमा लिएको छ । एमालेले ‘निराशाजनक हुने अवस्था नरहेको’ विश्लेषण गरेको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समीक्षा गर्ने विषय भएको बताए पनि परिणाम निराशाजनक नभएको बताए । “उपनिर्वाचनको परिणाम निराशाजनक छैन, उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरूमा पनि जितेका छौँ, अरू पार्टीहरूले लामो समयदेखि जित्दै आएका ठाउँहरूमा पनि जितेका छौँ”, पोखरेलले एक एजेन्सीसँगको कुराकानीमा भनेका छन्, “भएका कमी–कमजोरीलाई हामी हेर्छौँ र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौँ । अहिले एउटा भाष्य खडा गरिँदै छ– पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन, कायम छन् भन्यो ।”

जसमा महासचिव शंकर पोखरेल जनप्रतिनिधिको भूमिकाप्रति जनता सन्तुष्ट नरहेको देखिएको विश्लेषण गर्दछन् । उनको बुझाई एमाले वा कांग्रेस, माओवादीको सन्दर्भ नभई जनताले जनप्रतिनिधिको कार्यशैलीमा व्यापक व्यापक सुधार खोजेका छन् ।

“जनप्रतिनिधिको भूमिका प्रति स्थानिय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको र गरेको देखिन्छ । यसबाट जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ”, उनले भनेका छन् ।

पोखरेलको विश्लेषणमा एमालेको पक्ष थप उत्साहजनक मत नबढ्नुमा भने एमाले पार्टी र पार्टीको नेतृत्वविरुद्धको कुप्रचार महत्वपूर्ण रहेको दाबी गर्दछन् । सहरी क्षेत्रमा मतमा आएको कमीले सोतर्फ संकेत गरेको उनको विश्लेषण छ ।

“सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिँदैन, त्यसमाथि पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ”, उनले भनेका छन् ।

पोखरेलले भनेजस्तै अहिले विशेषगरी केही भ्रष्टाचारका प्रकरणले एमाले नेतृत्व बदनामित छ । पछिल्लो समयमा विवादित व्यापारी मीनबहादुर गुरुङसँग जग्गा लेनदेन गरेको विषयले एमालेमाथि आमरुपमा प्रश्न उठेको छ । जुन चुनावी अभियानका बिच निकै विवादमा तानियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट