काठमाडौं । पछिल्लो समय कलाकारहरू नै मेकर बनेर फिल्म बनाउने र पुराना कलाकारहरू फेरि फिल्ममा कमव्याक गर्ने शैली बढ्दो छ । जसलाई दर्शकले पनि खुबै रोजाइमा पारेका छन् ।
असोजको घटस्थापनामा नायिका स्वस्तिमा खड्काले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’बाट नेपाली फिल्मले पाएको सफलता अहिलेसम्म पनि कायम नै छ । यो फिल्मपछि दिपक–दीपाको फिल्म ‘छक्का पन्जा पाँ५’ होस् या विराज भट्टको कमव्याक फिल्म ‘१२ गाउँ’ नै किन नहोस् सुपर हिट भए ।
यस्तै, कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’ले पनि अहिलेसम्म दर्शकको साथ पाइ रहेको छ । जसको निर्माता कलाकार स्वयम् निता ढुङ्गाना हुन् ।
कलाकारकै कुरा गर्ने हो भने कुनै समयकी चर्चित अभिनेत्री ऋचा घिमिरेले पनि ‘तेल भिसा’ निर्माण गरिन्, जसले अहिलेसम्म पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
यो सबै कुराले पुराना कलाकारको कमव्याक र नेपाली कलाकारलाई फिल्म निर्माणमा फापेको प्रस्ट रूपमा देखिन्छ । र यही सफलतालाई निरन्तरता दिन एक्सन स्टार निखिल उप्रेती पनि पाँच वर्षपछि फिल्ममा कमव्याक गर्ने तयारीमा जुटेका छन् ।
उप्रेतीले फिल्ममा अभिनय मात्रै गर्दै छैनन्, फिल्मको निर्माणमा पनि लगानी गर्दैछन् ।
हालै एक अन्तर्वार्तामा निखिलले आगामी जेठबाट छायांकन सुरु गरिने बताएका छन् । ‘म द्वन्द्व (एक्सन)मा आधारित फिल्म बनाउने छु । उनले भने पहिला चाहिँ म सिर्फ द्वन्द्व गर्थेँ । र, मेरो द्वन्द्वमा कथा हालिन्थ्यो । अब मैले बनाउने फिल्मको कथामा द्वन्द्व हुन्छ’, उप्रेतीले भनेका छन् ।
फिल्म द्वन्द्व प्रधान भए पनि त्यसले युवापुस्तालाई धेरै कुरा सिकाउने उनको दाबी छ ।
उनका अनुसार फिल्म सुपर हिरो पात्रमा आधारित हुनेछ । तर, फिल्मको सुपर हिरो एकदमै ‘इनोसेन्ट’ (निर्दोष) रहेको उनी बताउँछन् । ‘मेरो फिल्मको सुपर हिरो एकदमै ‘इनोसेन्ट’ छ । ठ्याक्कै मजस्तै छ’, उनी अगाडि भन्छन्, ‘फिल्ममा हाम्रो कल्चरलाई जोड दिनेछु ।
उसो त निखिलले केही अन्तरवार्तामा आफ्नै होम प्रोडक्सनबाट अल्ट्रा हाई टेक सिनेमा बनाउने भनेका थिए । र, नभन्दै अब उनि यो कार्यमा तम्सिएर लाग्ने भएका छन् ।