काठमाडौं । सरकारी नम्बर प्लेट भएका दुई गाडीबाट सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले गतराति धनकुटाबाट धरानतर्फ जाँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । धरान–१३, अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन चार राउन्ड गोली समेत फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रहरीले लागुऔषध गाँजासहित बरामद सरकारी नम्बर प्लेटका गाडीको सन्दर्भमा अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा बोक्न प्रयोग भएका दुवै गाडीको नम्बर प्लेट भने सरकारी निकायका गाडीको नम्बरसँग मेल खाएको छ ।
बा १ झ ५१२७ नम्बरको नम्बर प्लेट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीसँग मेल खाएको छ । त्यसैगरी बा १ झ ४६०५ नम्बर भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको प्रहरीको भनाइ छ । यद्यपि, नम्बर प्लेट मिले पनि गाडी सम्बन्धित कार्यालयको हो कि होइन ? भन्ने विषय भने अनुसन्धानपश्चात मात्र खुल्ने सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए ।
गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी चेकिङलाई नै ठक्कर दिनेगरी तस्करले गाडी भगाएपछि चार राउनड गोली फायर गरिएको प्रहरी प्रमुख तिम्सिनाको भनाइ छ । प्रहरीले गाँजासहित मोरङको सुन्दर हरैँचा–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने फरार भएका अर्का चालकको खोजी भइरहेको जनाएको छ ।